एआईजी कार्कीद्वारा नयाँ बसपार्कसहित १३ स्थानमा चाडपर्व लक्षित नागरिक सहयता कक्ष स्थापना
काठमाडौं । चाडपर्वलाई लक्षित गरि सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका १३ स्थानमा नागरिक सहयता कक्षको स्थापना गरेको छ ।
बिहीबार काठमाडौंको नयाँबसपार्कमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी (एआईजी) दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन् । कार्कीले देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह गर्न अनेक प्रयास गरिरहेको बताए ।
प्रहरीले सञ्चालनमा ल्याइएका नागरिक सहायता कक्षले सुरक्षित यात्राका लागि विभिन्न सूचनाको सङ्कलन गरि आमयात्रुको यात्रालाई सहज गराउने प्रयास गर्ने एआईजी कार्कीले बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार र यातायात व्यवस्था विभागका सूचना अधिकारी एवम् निर्देशक गणेशमानसिंह राईले पर्वलाई लक्षितगर्दै ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख प्रहरी (एसएसपी) नवराज अधिकारीले सबै नागरिक सहायता कक्षबाट यात्रुले आफूलाई आवश्यक पर्ने सूचना लिनुका साथै कुनै समस्या परेमा नागरिक सहायता कक्षमा जानकारी गराइ ट्राफिक प्रहरीको सहयोग सजिलै लिन सकिने बताए ।
कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदूर, ट्राफिक प्रहरी, विभिन्न संस्थाका स्वयंसेवक तथा सञ्चारकर्मीहरू उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया