प्रधानमन्त्री कार्कीद्वारा बिबादित बारबरा फाउण्डेसनका अध्यक्ष डा.रुइतसँग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विवादास्पद बारबरा फाउण्डेसनका अध्यक्ष समेत रहेका वरिष्ठ नेत्र रोग चिकित्सक डा.सन्दुक रुइतसँग भेटवार्ता गरेकी छिन् ।

मंगलबार काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले डा.रुइतसँग भेट गरेकी हुन् । कार्कीले डा.रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर, सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् । प्रधानमन्त्री कार्कीसँगको छलफलपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै डा.रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । क्याविनेटमा आउने हो भनेर सोधेको प्रश्नमा डा.रुइतले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।

यसैबीच, प्रधानमन्त्री कार्कीले नियमित आँखा जाँच गरेको बताइएको छ । डा.रूइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको जनाइएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतीबिन्दुको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले जनाएको छ ।

डा.रुइत अध्यक्ष रहेको बारबरा फाउण्डेसनले जेनजी आन्दोलनलाई आर्थिक सहयोग गरेको भनेर आलोचना भइरहेको छ । बारबरा फाउण्डेसन अमेरिकनहरूले सञ्चालन गरेको संस्था भनिएको छ ।

Published : Tuesday, 2025 September 16, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया