प्रतिशोध लिन घर जलाउनुभयो, लुट्नुभयो, चुनौतीमै बाँचेको छु, कमजोर छैन, जुरुक्क उठ्ने आँट छ : कांग्रेस नेता चौधरी

मसुरिया । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले जेनजी पुस्ताको आन्दोलनको नाममा घुसपैठ गरेर सरकारी संरचना, व्यक्तिका निजी सम्पत्ति, कार्यालयहरू लुटपाट गर्ने, आगजनी गर्ने वा चोरी–डकैती गर्ने उद्देश्य भएको कुरा स्वीकार्य नरहेको बताएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गरेर जेनजीको वर्तमान आन्दोलन भनेका केहि बेथिति र विसंगतिका विरुद्ध उठेका आवाज रहेको बताए । उनले भने, ‘आन्दोलनको बहानामा राजनीतिक प्रतिशोध लिनु, व्यक्तिगत रिस र द्वेषले कसैलाइ दुःख दिने, सम्पत्ति नस्ट गर्नु आन्दोलनको मर्म होइन । यस्तो गर्नेलाई कानूनी कार्वाही हुनै पर्छ ।’

‘हो, म राजनैतिक पात्र हुँ नेतृत्वमा छु । राजनीतिक र सामाजिक भूमिका बोकेको व्यक्ति हुँ,’ उनले भने, ‘मेरो घर जलाउनुको कारण मेरो नेतृत्वमा पुग्नु हो की समाज रुपान्तरणका लागि गरिएको योग्दान, अभियान सफल भएको कारण हो ?’

लुम्बिनी कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री चौधरीले भने, ‘जब मेरो सम्पत्ति आगजनी गरेर, लुटियो, मेरो पसिना, श्रम र भविश्य खरानी भयो, त्यसको कारण म आफूले बुझ्न पाउनु पर्दैन र ?’

‘मेरो घर मात्र जलेको छैन, मेरो पसिना, चार दशकको श्रम, मेहन्त जलेका छन् । पुख्र्यौली सम्पत्तिमा रहेको छानोविहीन घरलाई सानै उमेरदेखि रोल्पा र रुकुम पुगेर, मासिक ३०० रुपियाँको जागिरको तलबबाट अहिले यहाँ सम्म आएर कमाएर मैले छानो बनाएको हुँ, त्यो मेरो परिवारको सपना थियो ।’

‘देश–विदेशमा रहेका विश्वविद्यालहरूमा पढाएर र बचत गरेर जम्मा गरेको एक–एक पैसा हो । यो सम्पत्ति राजनीतिक प्रतिशोधले जलाइएको छ,’ चौधरीले भने, ‘मैले कुनै अनियमितताबाट कमाएको होइन, यो मेरो पसिनाको कमाइ हो । यसरी जोडेको निजी सम्पत्ति खरानी बनाउनु के न्यायोचित हो ?’

नेता चौधरीले भने, ‘चुनौतीमै बाँचेको जीवन हो । म कमजोर छैन । सानै उमेरदेखि संघर्षसँग जुधेर म सबल बनेको हुँ । म आत्तिएको छैन । जुरुक्क उठ्ने आँट, विश्वास, लगनशीलता, साहस र धैर्य अझै मसँगै छन् । संघर्ष गर्दै बाँचेको जीवन हो । अझै संघर्ष गरिरहनेछु ।’

नेता चौधरीले भने, ‘पञ्चायत कालमा रोल्पा–रुकुममा जागिर गर्दा पनि धेरै पीडा भोगिएको हो । माओवादी सशस्त्र द्वन्दका समयमा ममाथि हानिएका गोलीहरूले मेरो जीवन जोगाएका थिए ।’

‘मुक्तकमैया अभियानमा नेतृत्व गर्दा राज्यले गोली प्रहार ग¥यो, तर म नडराई अगाडि बढेँ र समुदायका लागि जीत निकालें । त्यो समयको मृत्युको खतरा पनि टरेको थियो,’ उनले भने, ‘अहिले त केवल घर जलेको छ । मन जलेको छैन, आँट, साहस र क्षमता अझै बाँकी छ । म छिट्टै उठेर फेरि अघि बढ्नेछु । एक–एक थोपा जम्मा गरेर बनाएको पारिवारिक संरचना पुनस्र्थापित हुनेछ ।’

कांग्रेस नेता चौधरीले भने, ‘घरमा राजनीतिक प्रतिशोध गरिएको छ । राजनीतिक प्रतिशोध तथा भित्री–बाहिरी खराब तत्वहरूले मेरो जीवनभरको कमाइलाई खरानी बनाएका छन् । त्यो घर मेरो मात्र होइन । मेरो आमा, श्रीमती, छोरी र छोराको सपना थियो ।’

‘जेनजी आन्दोलनको नाममा स्पष्ट रूपमा राजनीतिक प्रतिशोध देखाइएको छ । हाम्रो घरले आन्दोलनको विरोध गरेको थिएन र न अवरोध गरेको थियो,’ उनले भने, ‘घरमा लुटपाट र चोरी भयो, परिवारले जम्मा गरेको केही गरगहनाहरू, रकम र अन्य सामानहरू समेत चोरी भए ।’

‘केही मिथ्या र गलत प्रचार पनि गरिएको छ । यस्तो कुकृत्य गर्नेहरूलाई उचित कानूनी कारबाही हुनुपर्छ,’ कांग्रेस नेता चौधरीले भनेका छन् ।

‘जीवनभर मेरो ध्यान सामाजिक विकास, समाजको उत्थान, राजनीति, समाजसेवा, विकास र जनता केन्द्रित नै रहनेछ,’ उनले भने, ‘म आम नागरिक, थारु समुदाय, विपन्न, गरीब र पछाडि परेका समुदायहरूको अधिकार स्थापना, आर्थिक विकास, शिक्षा र सामाजिक उत्थानमा सधैं प्रतिबद्ध छु, रहनेछु ।’

Published : Sunday, 2025 September 14, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया