न दाजुको, न भाईको, कांग्रेस कांग्रेसजनको भनेर अगाडि बढौं : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले समयअनुरुप हिड्न नजान्दा जेनजीको आन्दोलनले सत्ताबाट बाहिरिन बाध्य बनाएको बताएका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर नेता डा.कोइरालाले भने, ‘समयको पदचाप अनुरुप हामी हिड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन वाध्य पा¥यो ।’
‘नेपाली समाज र यहाँका उर्जावान युवाहरू एकातिर छन, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरू भए, हामी चुक्यौं,’ उनले भने, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं ।’
डा.कोइरालाले भने, ‘जसरी देशमा नयाँ सम्भावनाहरू प्रकट भैरहेका छन । नयाँ घटनाहरू अगाडि आएका छन । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ ।’
‘कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो’, डा.कोइरालाले भने, ‘यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरू कसरी अगाडि बढाउने भनी म तपाईहरूबीच दशैं लगत्तै देशव्यापी रुपमा आउनेछु ।’
उनले भने, ‘सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी “न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढौं ।’
‘जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ,’ उनले भने ।
‘वीपी कोइरालाको दिव्यवाणी सम्झौं “नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले” फेरि एकपटक देशभरि यसलाई बुलन्द गरौं,’ डा.कोइरालाले भने ।
उनले भने, ‘लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरूले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो ।’
‘आजफेरि एकपटक लोकतान्त्रिक इतिहाँसका ती योद्धा, नेता र शहीदहरूलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ,’ डा.कोइरालाले भने, ‘हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरूले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । ‘यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।’
‘मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तिव्र चाहना छ । हाम्रा युवाहरु आफ्नै देशमा आफनो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन्,’ डा.कोइरालाले भने, ‘कांग्रेस त्यसको माध्यम बनोस र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया