सभापति देउवामाथि भएको आक्रमणको बागमती कांग्रेसद्वारा विरोध, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाएका छन् ।

बुधबार जारी विज्ञप्तिमा बानियाँले भने, ‘जेनजी पुस्ताले शुरु गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा निरन्तर लोकतान्त्रिक व्यवस्थाका लागि लड्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछु ।’

बानियाँले राजनीतिक नेताहरूमाथिको आक्रमण र सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमण जस्तो अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासन कमजोर बनाउने बताएका छन् । उनले यस्ता घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित पक्षसँग अपील गरेका छन् ।

‘प्रशानिक केन्द्र सिंहदरबार, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद भवनसहित सरकारी भौतिक संरचनामाथिको आक्रमण लोकतान्त्रिक पद्धतिको आधार स्तम्भ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथिको प्रहार हो भन्ने नेपाली कांग्रेसको ठम्याई छ,’ सभापति बानियाँले भने, ‘लोकतन्त्रको आधार स्तम्भमाथिको प्रहारले लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने भएकाले यस्ता घटनाको घोर निन्दा गर्दछु ।’

‘विज्ञप्तिमा भनिएको छ, ‘अस्थिरताको फाइदा उठाउँदै चाडपर्वको मुखमा भइरहेको लुटपाट र उत्श्रृङ्खल गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मी र नागरिकको समन्वय जारी छ । सुरक्षा निकायले समन्वयमा शान्ति र अमनचयनका लागि प्रभावकारी कदम चाल्ने विश्वास छ ।’

‘आन्दोलनकारीका नाममा आफ्नो समुदायमा हुन सक्ने अवान्छित गतिविधिलाई नियन्त्रण गर्न नेपाली कांग्रेस सिंगो पार्टी पंक्ति, भ्रातृ एवम् शुभेच्छुक संस्थालाई सक्रिय हुन आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकलाई आफ्नो टोलमा टोल समिति गठन गरी यस्ता गतिविधिको प्रतिरक्षा गर्दै निस्तेज गर्न समेत आग्रह गर्दछ ।’

मुख्यमन्त्री समेत रहेका सभापति बानियाँले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसैले अहिले देशमा रहेको संक्रमणकालीन अवस्थाको अन्त्यका लागि कानूनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गरी यथाशीघ्र निकासका लागि राष्ट्रपति समक्ष अपील गर्दछ ।’

Published : Wednesday, 2025 September 10, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया