१५ अर्ब भ्रष्टाचार भएको प्राधिकरणको भवनमा आगो लगाएर प्रमाणहरू नष्ट
काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित सार्वजनिक लेखा समितिले कारबाही सिफारिस भएका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवनमा आगजनी भएको छ ।
मंगलबार जेनजीको आन्दोलनकारी हौँ भन्ने समूहले प्राधिकरणको बबरमहल कार्यालयमा रहेका भ्रष्टाचारसँग सम्बन्धित कागजातहरू जलाएर नष्ट गरेको छ । आगो लगाउने जेनजी समूह हुन् वा घुसपैग गर्ने समूह हुन् खुलेको छैन ।
प्राधिकरणभित्रको अर्बौको भ्रष्टाचार प्रकरण बाहिर आएको र कारबाही प्रक्रिया अगाडि बढेका बेला स्वार्थ समूहले प्राधिरकणमा आगजनी गरेर महत्वपूर्ण तथ्याङ्कहरू जलाएर नष्ट गर्ने प्रयास गरेको छ । तथ्याङ्कहरू जलेर नष्ट भयो भने अर्बौं भ्रष्टाचार गर्ने व्यक्तिहरूले उन्मुक्ति पाउनेछन् ।
कागजपत्र जलेपछि भ्रष्टाचारको आरोपमा कारबाही सिफारिस भएका महानिर्देशक प्रदीप अधिकारीसहितको समूहले उन्मुक्ति पाउने हो की भन्ने आशंका उब्जिएको छ ।
प्राधिकरणको सिनामंगलस्थित कार्यालय सुरक्षित छ । बबरमहलको कार्यालयमा पनि केही कागजपत्रहरू रहेका थिए ।
बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय, प्रशासन विभाग, वित्त विभाग, आन्तरिक अडिट विभाग रहेका थिए । जलेको कार्यालयमा वायुसेवा कम्पनीहरूको नियमका लागि महत्वपूर्ण मानिने सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ जस्ता विभागहरू पनि रहेका थिए ।
प्राधिकरणको सेन्ट्रल लाइब्रेरी र कानून विभागका कागजात समेत जलेका छन् । आगजनीका कारण नागरिक उड्डयन प्राधिकरणका अधिकांश महत्वपूर्ण डाटा जलेको छ ।
यसअघि, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक प्रदीप अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार लगायतलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् । यो समूहलाई कारबाही गर्नुपर्ने बेला झन् आकर्षक पद त्यो पनि दुई÷दुई वटा दिँदा समेत राज्यका निकायहरू निरिह बनेर बसेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया