आन्दोलनका क्रममा लुटिएका हतियार, पैसा बरामद, लुटेराहरू पनि पक्राउ

काठमाडौं । आन्दोलनका क्रममा लुटिएका हतियार, पैसासहितका सामग्री नेपाली सेनाले विभिन्न स्थानबाट बरामद गरेको छ ।

काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो । सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको छ ।

काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।

२३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।

यता, काठमाडौंको बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपियाँसहित केही व्यक्ति पक्राउ परेका छन् । मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो । सोही क्रममा ३३ लाख ७० हजार रुपियाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Published : Wednesday, 2025 September 10, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया