पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा चिन्ता व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघले जेनजीको आन्दोलनमा सरकारी क्रूर दमनको परिस्थितिबीच समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको गोली प्रहार, कुटपिट, अभद्र व्यवहार र सञ्चारगृहमाथिको आक्रमणले पत्रकार र सञ्चारमाध्यमको सुरक्षामै प्रश्न उठेबाट चिन्तित रहेको जनाएको छ ।

मंगलबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरेर पत्रकारमाथि भएको गोली प्रहार, कुटपिट, अभद्र व्यवहार र सञ्चारगृहमाथिको आक्रमणले पत्रकार र सञ्चारमाध्यम यसखाले घटनाप्रति दुःख व्यक्त गरेको जनाएका छन् ।

‘पछिल्लो आन्दोलनका क्रममा कार्यस्थलमा पत्रकारहरूले गम्भीर चुनौति भोगेका छन्,’ महासचिव दाहालले भने, ‘हिजो चार जना पत्रकार गोली लागेर घाइते भएका छन् । आज पनि कान्तिपुरको कार्यालयमा आक्मण भएको छ । त्यसैगरी बुटवलमा रहेको रेडियो जागरमा तोडफोड गरिएको छ ।’

महासचिव दाहालले भने, ‘जेनजीको सोमबारको आन्दोलनमा सरकारले चरम बल प्रयोग गरेपछि भडकिएको आन्दोलन आज मंगलबार पनि जारी रहेको छ । आन्दोलनकारीले संघीय संसद भवन, सिंहदरबा, सार्वजनिक सम्पत्ति, राजनीतिक दल तथा नेतको घरमा समेत आगजनी गरेका छन् । यस्ता घटनाप्रति महासंघ निन्दा गर्दछ ।’

‘महासंघ सरकार, सुरक्षाकर्मी र आन्दोलनरत पक्षसँग पत्रकारहरूलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गर्दछ । महासंघ सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दछ । देशभरका पत्रकारहरूलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएका छ ।

‘महासंघ परिवर्तनको चाहना राखेर भएको आन्दोलनका न्यायोचित मागहरू शान्तिपूर्ण वार्तामार्फत पूरा गर्न सम्बद्ध पक्षसँग अपील गर्दछ,’ महासंघका महासचिव दाहाले भने ।

Published : Tuesday, 2025 September 9, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया