प्रधानमन्त्री ओली सामाजिक सञ्जाल नखोल्ने अडानमा, जेनजीमा घुसपैठ भयो

काठमाडौं । नेपाली कांग्रेसको आग्रहपछि पनि प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल खोल्नेबारे अडान लिएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले नियमन नगरिकन सामाजिक सञ्जाललाई खोल्न नसकिने जनाएका हुन् । ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने जवाफ दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकाउन आग्रह गरेका थिए । ओली सामाजिक सञ्जाल फुकुवाको पक्षमा देखिएका छैनन् ।

मन्त्रिपरिषदले छानविन समिति बनाउने निर्णय पनि गरेको छ । समितिको संयोजक र सदस्यहरूका बारेमा केही भनिएको छैन ।

Published : Monday, 2025 September 8, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया