चार पत्रकार घाइते, एक सञ्चारमाध्यममा तोडफोड, पत्रकार महासंघद्वारा भर्त्सना
काठमाडौं । नेपाल पत्रकार महासंघले भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको भन्दै चिन्ता जनाएको छ ।
सोमबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरेर एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति निन्दा र भर्त्सना गरेको जनाएका छन् ।
महासंघले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकार समक्ष माग राखेको दाहालले बताएका छन् ।
‘सरकारले महासंघ लगायतका सरोकारवाला पक्षको आवाज नसुनेका कारण पछिल्लो परिस्थिति निर्माण हुन पुगेको देखिन्छ,’ महासंघले भनेको छ ।
‘महासंघमा हालसम्म प्राप्त जानकारी अनुसार प्रेससंग जोडिएका देहायका घटना भएका छन्,’ महासचिव दाहालले भने, ‘घाइते हुनेमा श्याम श्रेष्ठ–कान्तिपुर टेलिभिजन, दीपेन्द्र ढुंगाना–नयाँ पत्रिका दैनिक, शम्भु दंगाल– स्वतन्त्र पत्रकार, उमेश कार्की–नेपाल प्रेस र थाहा खबरको कार्यालयमा ढुंगा प्रहार भएको छ ।’
घाइते पत्रकारहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नयाँ बानेश्वरमा सोमबार भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै आन्दोलनकारी संघीय संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली चलाएको थियो । सोही क्रममा पत्रकारसहित आन्दोलनकारीलाई गोली लागेको थियो । प्रहरीको गोली लागेर कतिपय प्रदर्शनकारीको मृत्यु भएको छभने पत्रकारका साथै धेरै जना आन्दोलनकारी घाइते भएका छन् ।
महासंघ आन्दोलनको क्रममा ज्यान गुमाउने प्रर्दशनकारीको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दमनमा संलग्नहरूलाई महासंघले कारबाहीको माग गरेको छ ।
महासंघ पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र सबैको निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग महासंघले आग्रह गरेको छ ।
‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । प्रहरीले दमन गर्दा विकसित घट्नाक्रमप्रति महासंघ सरोकार राख्दछ र चरम दमनको भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘अतः प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न, सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न महासंघ अपील गर्दछ,’ दाहालले भने ।
‘दुबै पक्षलाई संयमित, मर्यादित र जिम्मेवार भई प्रेसमैत्री हुन आग्रह गरिन्छ । सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र आन्दोलनलाई हिंस्रक बन्न नदिन महासंघ सरकारसँग पुनः माग गर्दछ,’ महासचिव दाहालले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया