आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन संवेदनशीलता अपनाई कार्य गर्नु : आईजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

आइताबर नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशनका क्रममा खापुङ्गले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने बताए । उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा समेत थप सक्रियता अपनाउनु आवश्यक रहेको बताएका छन् ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने खापुङले बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाह समेतले समसामयिक विषयमा निर्देशन दिएका थिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Published : Sunday, 2025 September 7, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया