३५ अर्ब भुक्तानी भएको छ, निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम समयमा हुन सकेकाे छैन : गृहमन्त्री लेेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औँ साधारणसभा एंव १५ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्ने बताए । “सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन,” गृहमन्त्री लेखकले भने, “सरकारी र गैरसरकारी निमार्णसंग सम्बन्धित संस्थाहरूको क्षमता वृद्धि भएमात्रै राष्ट्र निमार्णको आधार तयार गर्न सकिन्छ ।”

समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरूको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम गर्नुपर्ने लेखकले बताए ।

”निर्माण व्यसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,” लेखकले भने, “निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ । कुनै पनि सार्वजनिक काममा अशान्ति हुँदैन ।”

उनले मुलुकभर विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्काउने जस्ता गतिविधिहरू सरकारले सहन गर्न नसक्ने बताएका छन् ।

लेखकले पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमा काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्ने बताए । “भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपबेय हुन्छ नागरिकले ठिक ढंकले सेवा लिन सक्दैन,” गृहमन्त्री लेखकले भने, “समयमा काम सम्पन्न नहुँदा आयोजनाको मुल्य बढ्दै गएको छ,अहिले एउटै आयोजनाको दुई सय प्रतिशतसम्म मुल्यअभिवृदि भएको छ ।” उनले यसमा निर्माण व्यवसायी मात्रै दोषी नभएको बताए ।
लेखकले राष्ट्रिय निमार्ण क्षमताको अभिवृद्धि गर्नुपर्ने बताए । विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जार्नुपर्ने उनले बताए ।

गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकतामा नीतिगत र कानूनी सुधार, सुशासन र दण्डहिनताको अन्त्य गरि विकास निमार्ण लाई द्रुतगतिमा अगाडि बढाउने रहेकोे बताए । उनले वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिहेको बताए । “यो सबै कुराको पूर्व सर्त स्थायी सरकार हो त्यसकारण दुई ठुला पार्टी मिलेर स्थायी सरकार बनेको छ,” उनले भने, “अहिलेको सरकारले नीतिगत र कानूनी सुधारलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।” लेखकले निमार्ण व्यवसायीहरुलाई निर्धक्कसंग विकास निमार्णका काम गर्न समेत आग्रह गरेका छन् । वर्तमान सरकारले निर्माण व्यवसायीहरूलाई वर्षौदेखिको तिर्नुपर्ने ३५ अर्ब गत आर्थिक वर्षमा भुक्तानी गरेको गृहमन्त्री लेखकले बताए ।

Published : Friday, 2025 September 5, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया