नक्सालबाट आईजीपी थापासहित २ एआईजीहरूको बिदाइ

काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाइ गरिएको छ ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा थापा, गिरी र तामाङलाई नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरेका हुन् ।

आईजीपी थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए ।

कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवद्र्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उनले बताएका छन् ।

संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धिकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधार मार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको थापाले बताएका छन् ।

थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा खापुङले संगठनलाई थप नयाँ उचाइँ दिने थापाले बताए ।

थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई हस्तान्तरण गरेका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले सेवा निवृत्त हुन लागेका थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् ।

सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आ–आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ गरिएको छ । उनीहरूलाई श्रीमती भावना श्रेष्ठ खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरेकी छिन् ।

Published : Wednesday, 2025 September 3, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया