नेपाल–भारत सम्बन्धमा उतारचढाव आए समझदारीमा टुंग्याउनुपर्छ : कानूनमन्त्री चौरसिया

वीरगञ्ज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ कार्यक्रममा चौरसियाले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए ।

कानूनमन्त्री चौररियाले भने, ‘दुवै मुलुकबीच सदियौँदेखि सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आए पनि समझदारीमार्फत नै टुंग्याउनुपर्ने हुन्छ ।’

कानूनमन्त्री चौरसियाले नेपाल र भारतबीचको सम्बन्ध संसारका अन्य कुनै पनि मुलुकमा पाउन नसक्ने बताएका छन् ।

उनले भने, ‘दुवै मुलुकका जनताबीचको आत्मीय सम्बन्ध संसारको अन्य कुनै पनि मुलुकमा प्राप्त गर्न सकिँदैन । सञ्चारमाध्यमले दुवै मुलुकलाई तोड्ने नभएर जोड्नेतर्फ अग्रसर हुन जरुरी छ ।’

चौरसियाले नेपाल र भारतका नेतृत्वले दुवै देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण सहयोग र सदासयता देखाएको बताए । उनले त्यो सम्बन्धलाई थप बलियो बनाउन वर्तमान नेतृत्वले भूमिका खेल्नुपर्ने बताए ।

Published : Saturday, 2025 August 30, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया