परराष्ट्रमन्त्री डा.राणाद्वारा सुदूरपश्चिममा लगानी गर्न आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् ।
सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा डा.राणाले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले लगानी गरेर मुनाफा कमाउन आग्रह गरेकी हुन् ।
डा.राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहरूको प्रसस्त सम्भावना छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लािग आह्वान गर्दछु ।’
डा.राणाले जलस्रोत, उर्वर भूमि र नदीहरू, घना जंगल, अद्वितीय जैविक विविधता एवं सांस्कृतिक सम्पदाहरूको घरका रुपमा रहेको यस प्रदेश स्रोत र साधनले सम्पन्न भएपनि बत्तिमुनिको अँध्यारोको अवस्थामा रहेको बताइन् । सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय रुपमा उजागर गरी वैदेशिक लगानीकर्ताहरूलाई आकर्षित गर्न सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको आयोजना गर्नु खुसीको कुरा भएको डा.राणाले बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गरेकी छिन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटो सयममा सुदूरपश्चिम क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै डा.राणाले बताएकी छिन् ।
बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कोमल शाहसहित नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरू समेत उपस्थित रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया