तलब र भत्ताबाट मुख्यमन्त्री बानियाँले अति विपन्न मिठूमायाको घर बनाइदिने, रकम हस्तान्तरण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो तलब, भत्ताबाट मकवानपुरको मनहरि गाउँपालिका वडा नं. ९ निवासी मिठूमाया सुनारको घर बनाइदिने भएका छन् ।

पाँच वर्ष अगाडि श्रीमान् गुमाएकी सुनारको घर मुख्यमन्त्री बानियाँले बनाइदिन लागेका हुन् । सुनारको छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेका छन् ।

अति विपन्न सुनारको घर बनाई दिन मंगलबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत दुई लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको मुख्यमन्त्री बानियाँले बताएका छन् ।

मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले जानकारी दिएका छन् ।

Published : Wednesday, 2025 August 27, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया