संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठूलो सम्पत्ति हुन् : कुलमान घिसिङ

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई आह्वान गरेका छन् ।

लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए ।

घिसिङले उज्यालो अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि दश वर्षसम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढीला नगरिकन यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने ।

घिसिङले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पूरा गर्न आग्रह पनि गरेका छन् । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए ।

भर्खरै गरिएको एक अध्ययनले नेपालीहरूले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठूलो एसेट (सम्पत्ति) भएको बताए । एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरेका छन् । घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरेका छन् ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरू भेला भएर उत्सव मनाएको देख्दा आफू अत्यन्तै खुसी भएको बताए ।

राजदूत घिमिरेले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए । उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरेका छन् ।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव डा.विशाल गुरुङले गरेका थिए ।

मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए ।

मेलाको उद्घाटन तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरूले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए ।

Published : Monday, 2025 August 25, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया