प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ : कुलमान घिसिङ

लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नु पर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलद्वारा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए ।

खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर, तिनै प्रवासी नेपालीलाई एयरपोर्टदेखि नै दुःख दिने गरिएको उनले बताए ।

‘विदेशमा रहेका नेपालीले हरेक महिना एक खर्ब रुपियाँभन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ । त्यस अनुसार उहाँहरूले सम्मान पाउन सक्नु भएको छैन,’ उनले भने ।

मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक छ,’ उनले भने ।

आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा आइपुगेको बताउँदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तबसम्म कसैको पनि इज्जत नबढ्ने बताए ।

चिलिमे जलविद्युत आयोजनाको प्रमुख भएर काम गरेको अनुभव साझा गर्दै घिसिङले भने, ‘चिलिमेबाट मलाई सरुवा गरिएपछि स्थानीय जनताले एक महिनासम्म आन्दोलन गर्नु भयो, एक हप्ता सम्म त सडक नै बन्द गर्नु भयो । त्यसैले जनताको माया कस्तो हुन्छ भन्ने मैले त्यसै बेला थाहा पाएको हुँ ।’

जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने उनले बताए ।

‘आम जनतालाई सहुलियत दिन विद्युत् महसुल २५ प्रतिशत घटाउँदा पनि प्राधिकरणले अहिले वार्षिक १२, १५ अर्ब रुपियाँ नाफा गरी रहेको छ ।

‘१० वर्षसम्म लोडशेडिंग अन्त्य हुँदैन भनेर हाम्रै एक्स्पर्टहरूले भनेका थिए तर, अहिले भारत र बङ्गलादेशलाई विद्युत् निर्यात गरिरहेका छौँ । सात हजार मेगावाटका परियोजना निर्माणाधीन छन्,’ उनले भने ।

घिसिङले ५० हजार मेगावाट विद्युत् उत्पादन गर्ने हो भने नेपालले विद्युत् बिक्री गरेर बर्सेनि ३० देखि ४० खरब रुपियाँ आम्दानी गर्न सक्ने बताए । ‘२५ देखि ३० वर्षभित्र ती सबै आयोजना सरकारको स्वामित्वमा आउँछन् । विद्युतबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा खर्च गर्न सकिन्छ,’ उनले भने ।

विद्युत् मात्रै हेरेर हुँदैन, नेपालमा सबै क्षेत्र उज्यालो बनाउनु पर्छ भन्दै आफूले उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए ।

‘नेपालमा सही समयमा सही व्यक्ति सही ठाउँमा हुँदैन, त्यसले समस्या आउँछ । राजनीतिमा पनि, हरेक क्षेत्रमा यो लागू हुन्छ,’ उनले भने ।

‘यो पोलिटिकल लिडरसिप राम्रो हुनु पर्छ भन्ने अभियान पनि हो । देश विकास गर्नलाई राजनीतिक नेतृत्व नै राम्रो हुनु पर्छ , मेरो पनि बुझाइ त्यही हो । समय आएको बेला देशमा परिवर्तन गर्नलाई तपाईँहरूले पनि योगदान गर्नु पर्छ,’ उनले भने ।

नेपालको संविधानले दिएको र सर्वोच्च अदालतले दिएको आदेश अनुसार विदेशमा बस्ने नेपालीहरूलाई विदेशमै बसेर पनि भोट हाल्न दिनु पर्ने उनले बताए ।

त्यस्तै एनआरएन नागरिकता अहिले प्रयोगविहीन अवस्थामा रहेको गुनासो आएको भन्दै जति सक्दो चाँडो कानून बनाएर एनआरएन नागरिकता कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए ।

‘एनआरएनहरूलाई सहज रूपमा नेपालमा गएर लगानी गर्ने वातावरण बनाउनु पर्छ । नेपाललाई उज्यालो बनाउने, नेपाललाई समृद्ध बनाउने तपाईँ हाम्रो सबैको दायित्व हो । यो सबैलाई जोड्ने अभियान हो । उज्यालो नेपाल अभियानलाई साथ सहयोग दिन म आग्रह गर्न चाहन्छु,’ घिसिङले भने ।

उनले आफ्नो बाँकी जीवन समग्र देशको उज्यालोको लागि समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन लामाले गरेका थिए । अर्जुन घिमिरे, सोमफुरी शेर्पा लगायतले मन्तव्य राखेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बुले सञ्चालन गरेको कार्यक्रममा शेर्पा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Published : Sunday, 2025 August 24, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया