सहकारी ठग र संगठित अपराधका अभियुक्त रविलाई जेलभित्र छुट्टै कोठा, टेलिफोन र शौचालयको व्यवस्था

भैरहवा । कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी र संगठित अपराधको कसूरमा पुर्पक्षका लागि बन्दीगृहमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै बन्दीगृहमा राखिएको बताएको छ ।

बिहीबार कारागार प्रशासक सुरेश भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर विगत चार महिनादेखि थुनुवामा रहेका लामिछानेलाई छुट्टै कोठामा राखेर छुट्टै शौचालयको व्यवस्था गरिएको बताए । विज्ञप्तिमा भनिएको छ, ‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।’

कारागार प्रशासनले बिरामी बन्दीहरूको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।

‘सबै बन्दीहरूबीच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकार मैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कारागारभित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारिक सूचना लिइ सत्य तथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’

कारागार प्रशासक भण्डारीले विगत केही दिनदेखि यता संचार माध्यमहरूमा रुपन्देही कारागारका विषयमा विभिन्न समाचारहरू प्रकाशित भएको भन्दै ध्यानकर्षण भएको बताएका छन् ।

कुल २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानून बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको जनाएको छ ।

‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरूलाई खाने, बस्ने, डिडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा र पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा भण्डारीले भने ।

‘कारागार ऐन २०७९ तथा कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानून बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन ।’

कारागार प्रशासनको तर्फबाट समय समयमा कारागार भित्रको बस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरूको गुनासो सुन्ने र स्रोतसाधनले भ्याए सम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको रुपन्देही कारागार कार्यालयले जनाएको छ ।

Published : Thursday, 2025 August 14, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया