बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बानियाँले मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत लिएका हुन् । कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत दिएका छन् ।
मुख्यमन्त्री बानियाँको पक्षमा ६३ जना सांसदले मतदान गरेका छन् । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका छन् । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।
कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण बैठकमा सहभागी भएनन् । प्रदेशसभाको बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो । कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेका थिए । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका छन् ।
पार्टीभित्रको विवादका कारण आफ्नै दल कांग्रेसका १४ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका थिए । कांग्रेसको केन्द्रीय नेतृत्वको चेतावनीपछि बहादुरसिं लामा समूहका सांसदहरू बैठक सञ्चालन हुने समयमा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरेका थिए । उनीहरूले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गरेका छन् । बहादुरसिं लामा समूहका कारण दिउँसो ४ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो गरी प्रदेशसभाको बैठक सञ्चालन भएको थियो ।
बागमतीमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले ६ मन्त्री नै सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ । कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन । दुवै बानियाँ निकट हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया