युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन् ।
मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरूप्रति नै देशले भर गरेको बताइन् ।
नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने डा.राणाले बताइन् । उनले युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेबताइन् ।
डा.राणाले युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको बताइन् । उनले भनिन्, “म युवाहरू विदेश जानै हुदैन भन्ने पक्षमा छैन । म भन्छु विदेश जानुस् । ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।”
स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा.राणाले युवाहरूको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने बताइन् । परराष्ट्रमन्त्री डा.राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरूले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेकाे बताइन् । नेपालीहरूले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै डा.राणाले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने बताइन् ।
उनले देशका युवाहरूलाई सकारात्मक सोँच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययन पछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव दिएकी छिन् । डा.राणाले भनिन्, “अहिले धेरै युवाहरु टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस् । जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरूको जीवनमा कुनै राम्रो उर्जा दिँदैन ।”
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया