दैलेख कांग्रेसका पूर्वसभापति श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व सभापति रविन्द्रराज श्रेष्ठको निधन भएको छ ।

७७ वर्षीय श्रेष्ठको श्रावण २६ गते उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी शोक वक्तव्यमा उल्लेख छ ।

विक्रम संवत् २००५ पुस ८ गते जन्मिएका श्रेष्ठ प्रतिवन्धितकालमा नेपाली कांग्रेस, दैलेखका सचिव र २०४८ देखि २०५१ सम्म जिल्ला सभापति रहेका थिए । श्रेष्ठले पार्टीका विभिन्न पदमा रहेर पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

श्रेष्ठ त्रिभुवन मा.वि. दैलेखको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, नेपाल परिवार नियोजन संघ दैलेखको सभापति र नेपाल सरकारको वन पैदावार विकास समितिको महाप्रबन्धक जस्ता विभिन्न पदहरूमा रहेर सामाजिक कार्यमा समेत संलग्न रहँदै आएका थिए । श्रेष्ठको निधनबाट पार्टीले एकअग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस दैलेखका पूर्व सभापति रविन्द्रराज श्रेष्ठको निधनको खबरले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ देउवाले भने, ‘श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भने ।

Published : Tuesday, 2025 August 12, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया