ठगीकाे अभियाेगमा युनिग्लोबल कलेजलाई २ लाख जरिबाना, प्रेसिडेन्सियललाई पनि कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले युनिग्लोब हाइयर सेकेन्डरी स्कुल र प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रा.लि.लाई कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीले आइतबार नियमित अनुगमन अन्तर्गत काठमाडौं महानगरपालिका–२८ मा रहेको युनिग्लोब हाइयर सेकेन्डरी स्कुललाई २ लाख ५ हजार रुपियाँ र काठमाडौं महानगरपालिका–१६ मा रहेको प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रा.लि.लाई १ लाख रुपियाँ जरिबाना तिराएको विज्ञप्तिमा उल्लेख छ ।

विभागका वरिष्ठ निरीक्षण अधिकृत अमित झाका अनुसार युनिग्लोब स्कुलमा एक विद्यार्थीले अध्ययनका लागि सिट बुकिङ गर्न भनेर २० हजार रुपियाँ बुझाएका थिए । ती विद्यार्थीले अर्काे कलेजमा पूर्णछात्रवृत्ति पाएपछि २० हजार फिर्ता माग्दा नदिएर आलटाल गरेको भन्दै विभागमा उजुरी गरेका थिए ।

विद्यार्थीले उक्त स्कुलबाट कुनै सेवा सुविधा नै नलिएपछि पनि स्कुलले पैसा लिएर फिर्ता नगरेपछि उक्त जरिबाना तिराइएको निरीक्षण अधिकृत झाले बताए ।

युनिग्लोब स्कुललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम जरिबाना तिराइएको विभागले जनाएको छ ।

प्रेसिडेन्सियल अब्रोड एकेडेमीलाई शिक्षा मन्त्रालयबाट इजाजत नलिई कन्सल्टेन्सी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको झाले बताएका छन् ।

विभागले विद्यालयसँग सम्बन्धित कागजपत्रसहित ३ दिनभित्र उपस्थिति हुन युनिग्लोबललाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । प्रेसिडेन्सियललाई पनि आवश्यक कागजपत्रसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले आइतबार अनुगमन गरेको काठमाडौं–१६ को भ्याली इन्टरनेसनल इन्स्टिच्युट अफ स्टडी अब्रोड प्रा.लि., क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी, छाङमी एजुकेसन प्रा.लि., काठमाडौं–२८ को जेएनजे एजुकेसन प्रा.लि., गेट थ्रु गाइड इन्टरनेसनल प्रा.लि., एचआईके भिजन, काठमाडौं–३१ को नमस्ते युनिफर्म एन्ड सप्लायर्स प्रा.लि. र ललितपुरको फाइभ स्टार रेस्टुरेन्ट एन्ड बार प्रा.लि.लाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ४ उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन मात्रै दिइएको छ ।

Published : Sunday, 2025 July 27, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया