पूर्वराष्ट्रपति भण्डारी जिल पर्ने एमालेको निर्णय, कथित सत्ता परिवर्तनको हर्कतलाई बेवास्ता
काठमाडौं । एमालेले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।
शुक्रबार र शनिबार बसेको एमालेको पोलिटब्यूरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको गौतमले बताए ।
पार्टीको सदस्यता प्रणालीलाई सरल बनाउन संगठित सदस्य र पार्टी सदस्य गरी दुई प्रकारको व्यवस्था हटाएर एउटै बनाउने सुझावलाई पनि बैठकले स्वीकार गरेको छ ।
जिल्ला कमिटीलाई हालको राजकीय संरचनाअनुसार कार्यकारी कमिटीको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको गौतमले बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय बैठकमा उठे पनि हाललाई कुनै निर्णय नभएको गौतमले बताए ।
पार्टी विधानको धारा ८ र ९ अनुसार राष्ट्रपति जस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्तिको सक्रिय राजनीतिमा पुनरागमन र सदस्यताको प्रक्रियाबारे गम्भीर छलफल आवश्यक देखिएकोले यो विषय हाललाई पेन्डिङमा राखिएको गौतमले बताए ।
उनले भने, ‘राष्ट्रपति पदको गरिमा र हाम्रो प्रणालीमा यसले पार्ने प्रभावबारे विभिन्न कोणबाट छलफल भयो । यस विषयमा पार्टीले उचित समयमा आवश्यक परामर्श र छलफलपछि ठूलो फोरमबाट निर्णय लिनेछ ।’
पोलिटब्युरो बैठकले पारित गरेका विधान संशोधन सम्बन्धी यी प्रस्तावहरूलाई अब साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिनेछ ।
केन्द्रीय कमिटीबाट पारित भएपछि सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने र त्यसपछि विधान महाधिवेशनले अन्तिम टुङ्गो लगाउने एमालेले जनाएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीति गर्ने जनाएकी छिन् । उनले एमालेको पार्टी सदस्यता नवीकरण गरेको दाबी गरेकी थिइन् । तर, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यताका विषयमा कुनै निर्णय गरेको छैन ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा लोभ देखाएकी छिन् । आफ्नो गरिमा र जिम्मेवारीलाई बेवास्ता गर्दै राजनीतिमा फर्किएपछि भण्डारीको आलोचना भइरहेको छ ।
एमालेको पोलिट ब्यूरो र स्थायी कमिटीको बैठकमा नेपाली कांग्रेस र एमालेको गठबन्धनको सरकार भत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेता डा.शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहबीच भएको भेटका विषयमा कुनै छलफल भएको छैन । एमालेले यी भेट र सम्वादहरूलाई खासै महत्व दिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया