कता हराए स्वर्णिम वाग्ले ? दिल्लीमा खोजाखोज

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारतको विदेश मन्त्रालयको निमन्त्रणमा राइसिना डायलग कार्यक्रमका लागि गत हप्ता भारत गएकी थिइन् । त्यस कार्यक्रमका आयोजकले उनीहरूको वेभसाइटमा सहभागीहरूको फोटो अपलोड गरिरहेका थिए । सुरुमै मन्त्रीहरूको राखेका थिएनन् । सांसद तथा अन्य अधिकारीहरूको मात्र राखेका थिए ।

यसैक्रममा एकदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेको राखेका थिए । वेभसाइटबाट त्यही फोटो निकालेर नेपालमा फेसबुकमा लेख्न थालियो कि– स्वर्णिम वाग्लेको फोटो आयो, मन्त्रीको आएन । त्यसैले परराष्ट्रमन्त्री डा.राणा उक्त कार्यक्रममा भारतले बोलाएरै गएकी हुन् ।

सो राइसिना डायलग कार्यक्रम मार्च १७ देखि १९ सम्म आयोजना गरिएको थियो । २० तारिखमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कन्क्लेभको आयोजना गरिएको थियो । त्यसैले आयोजकहरूले उदघाटन सत्रको अघिल्लो दिनदेखि मात्र मन्त्रीहरूको फोटो वेभसाइटमा अपलोड गरे । जसमा नेपालका परराष्ट्रमन्त्रीको फाटो सुरुमै राखेका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले त्यहाँ रहँदा तीन वटा कार्यक्रमलाई सम्बोधन गरेकी छिन् । चार देशका विदेशमन्त्रीसँगैको राउन्टेबल सेसनमा बोलेकी छिन् । त्यसैदिन साँझ सोही कार्यक्रमकै पोड काष्टमा बोलेकी छिन् । अनि २० तारिखको कन्क्लेभमा २० मिनेट सम्बोधन नै गरेकी छिन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले भारतका विदेशमन्त्री डा.एस जयशंकरसँग अर्थपूर्ण वार्ता गरेकी छिन् । दुई परराष्ट्रमन्त्रीबीच नेपाल–भारत सम्बन्धका धेरै कुरा भएका छन् । डा.राणाले नेपालमा भारतबाट निर्यात भई आउने विद्युतको मात्रा बढाउन कुटनीतिक पहलकदमी नै लिएकी छिन् । जुन कुरा मिडियामा आइसकेको छ ।

अर्काे कुरा परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्लीमा रहँदा फिलिपिन्स, जर्जियाका विदेशमन्त्री, मल्दोभाका उपप्रधानमन्त्री मात्र नभएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एसियाका लागि सुरक्ष निर्देशकसँग समेत भेटेर विपिन जोशीको रिहाइ र नेपालमा एमसीसी परियोजनाको निरन्तरताका बारेमा कुराकानी नै गरेकी छिन् ।

तर, यहाँ उल्लेख गर्न खोजिएको प्रसंग रास्वपाबाट कार्यक्रममा सहभागी स्वर्णिम वाग्लेको उपस्थितिको हो । यसअघि जसरी सामाजिक सञ्जालमा स्वर्णिम वाग्लेको फोटो राखेर परराष्ट्रमन्त्री डा.राणाको उपस्थितिको प्रश्न उठाइएको थियो, त्यसैगरी स्वर्णिम वाग्ले सो कार्यक्रममा सहभागी भए कि भएनन् ?

यस विषयमा न कतै चर्चा भयो नत समाचार नै आयो । बरु नयाँ दिल्लीमा पुगेका नेपालका पत्रकारले खोज्दै थिए– खोइ त स्वर्णिम वाग्ले भनेर । स्वर्णिम वाग्लेले सो डायलगमा सम्बोधन गरे गरेनन् ? या कुनै सेसनमा सहभागी भए भएनन् ? यी कुनै विषयमा केही आएन ।

स्वर्णिम वाग्ले त हराए हराए, उनको फोटो राखेर फेसबुकमा गुणगान गाउनेहरू पनि सँगसँगै हराएका छन् । उनीहरूले अहिलेसम्म राइसिनामा स्वर्णिम वाग्लेको खोजी गरेका छैनन् ।

Published : Saturday, 2025 March 22, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया