सीडीओ र एसपी मिलेपछि सिरहामा माफिया राज, सभापति यादवले उठाए संसदमा गम्भीर कुरा
काठमाडौं । सिरहा जिल्लामा माफियाले राज गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद समेत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले सुरक्षा निकायको आलोचना गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद यादवले सिरहामा जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारी (सीडीओ)लगायतले माफियालाई संरक्षण गरेर राखेको आरोप लगाए । उनले सिरहा जिल्लाको शान्ति सुरक्षा निकै कमजोर भएको भन्दै गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘सिरहा जिल्ला माफियाको राज भएको छ । छ महिनाभित्र सशस्त्र प्रहरीका सई दारुका तस्करबाट मारिएको स्थिति छ । रिंकु सदालाई सामूहिक बलत्कारबाट हत्यासम्मको घटना भएको छ ।’
‘हिजोअस्ति त्यहाँ चुरे नाश गरेर गिट्टीबालुवा उत्खनन् गरेर भू–माफियाको विरुद्ध बोल्दा त्यसको क्यामरा फुटाइएको छ । पत्रकारलाई ज्यानमार्ने धम्की दिइएको छ’, सांसद यादवले भने ।
‘सीडीओसँग कुरा गर्दा यो केही होइन भन्छ । यो कस्तो राज्य प्रणाली हो ? यही हो लोकतन्त्र ? यदि तपाईले यसैलाई लोकतन्त्र भन्नु हुन्छ भने अस्ति एयरपोर्टमा जस्तो होइन, प्रत्येक कुनाकुनाबाट राजाहरू जन्मिनेछ । तपाईहरूलाई औला ठड्याएर चुनौती दिनेछ’, सांसद समेत रहेका सभापति यादवले भनेका छन् ।
सभापति यादवले भने, ‘अब सरकारले बेच्न के बाँकी रह्यो ? सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ मा एकजना भारतीय नागरिकलाई वडाध्यक्षले नेपाली नागरिक बनाइ नागरिकता बेच्ने काम गरेका छन् ।’
‘२०८० साल असार २६ गते । त्यहाँका नागरिकहरूले यो नेपाली नागरिक होइन भारतीय हुन भनेर सीडीओ अफिसमा निवेदन दिएको छ’, सांसद यादवले भने, ‘तर त्यो सत्ताधारी पार्टीको वडाध्यक्ष भएको हुनाले त्योमाथि कारबाही भएको छैन ।’
सभापति यादवले भने, ‘अब यो सरकारले नागरिकता बेच्नेलाई पनि कारबाही गर्दैन । तपाईले कारबाही गर्न चाहँदैन भने अब के गर्ने ?’
सिरहा जिल्लामा शान्ति सुरक्षाको स्थिति निकै कमजोर भएर गएको आरोप लागेका सांसदले नै संसद बैठकमा गम्भीर चासो र चिन्ता जनाएका छन् । सिरहाका सीडीओ बासुवेद अधिकारी र प्रहरी प्रमुख (एसपी) रमेश पण्डितले माफियासँग मिलेर राज गरेको कुरा बाहिरिएको छ । उनीहरू तस्करसँगको मिलोमतोमा शान्ति सुरक्षालाई कमजोर बनाएको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया