पलाउ जान हिँडेका २० नेपालीको परराष्ट्र मन्त्रालयद्वारा थाइल्याण्डबाट उद्धार
काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले पलाउ भन्ने मुलुकमा रोजगारीमा जान लागेका बेला अलपत्र परेका २० जना नेपालीहरूलाई उद्धार गरेर नेपाल पठाएको छ ।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले शनिबार विज्ञप्ति जारी गरेर २० जना नेपालीहरूलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको जनाएको छ ।
‘आकर्षक रोजगारीको प्रलोभनमा पारी पलाउ भन्ने मुलुकमा रोजगारीका लागि पठाउन जनवरी २४, २०२५ मा भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड ल्याई अलपत्र पारिएका २० जना नेपाली नागरिकहरूलाई राजदूतावासले उद्धार गरी फागुन २३ गते नेपाल फर्काइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’
परराष्ट्रमन्त्री डा.आरजु राणाले विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्धार गर्न मातहतलाई बेलाबेला निर्देशन दिँदै आएकी छिन् । उनले विदेश जाने नेपाली नागरिकहरूका विषयमा धेरै समस्या रहेको डा.राणाले बताउने गरेकी छिन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया