केही असहमति भए छलफल गरेर समाधान गर्नुपर्छ, पार्टीलाई जीवन्त बनाइराख्नुपर्छ : सभापति देउवा
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूका बीचको मतभेदलाई हटाएर पार्टीलाई जीवन्त बनाउन सकिने बताएका छन् ।
साेमबार भैरहवामा कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीबीचमा कतिपय कुराहरू नमिलेका हुन सक्छन् । तर आपसमा छलफल गरेर, मेलमिलाप गरेर नै मतभेदहरूलाई हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ ।’
देउवाले वर्तमान दुई दलीय सरकारले नागरिकमाझ विश्वास पाउन सकेमात्रै भविष्यमा पार्टीहरूप्रतिको विश्वास बलियो भएर जाने बताए । उनलेे वर्तमान संविधानमा आवश्यक संशोधनसहित पूर्ण कार्यान्वयन, गणतन्त्र र समावेशी व्यवस्थाको संस्थागत विकासका लागि कांग्रेस आफू रहेको बताएका छन् ।
‘अहिले दुई दलीय सरकार छ । यो सरकारको सफलताले हामीलाई लाभ हुनेछ । हामीले सरकार र सत्ता साझेदार दलहरूप्रति पनि इमान्दाररुपमा व्यवहार गर्नुपर्ने हुन्छ । सबै पार्टीहरूको सहयोगमा हामीले देशलाई अहिलेको अवस्थाबाट माथि उठाउन काम गर्नुपर्नेछ,’ देउवाले भने, ‘हामीले संघर्ष गरेर ल्याएको गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था छ यसलाई संस्थागन गर्ने कुरामा समेत हाम्रो सक्रियता हुनुपर्दछ ।’ उनले नेपालको वर्तमान संविधानले सबै वर्ग, जातजाति र धर्म सम्प्रदायको अधिकारको सुनिश्चिता हुने अवस्था बनाएको भन्दै यसको कार्यान्वयनका लागि समेत पार्टीको जिम्मेवारी हुने बताए ।
उनले अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउने अवस्था नभएपनि भविष्यमा पार्टीको राम्रो अवस्था हुने गरी काम गर्न निर्देशन दिए । देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् । उनले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुनसक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने ।
उनले वर्तमान सरकार सफल हुने समेत गरेका छन् । सत्तामा प्रमुख दल कांग्रेस–एमाले भएपनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको बताए ।
देउवाले भने, ‘अरु पार्टीका साथीहरु पनि सरकारमा समावेश हुनुभएको छ । अत्यन्तै राम्रो कुरा हो ।’ नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको देउवाले बताए । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दल आवश्यक हुने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया