बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखराका मेयर जलेर घाइते, हेलिकप्टरबाट उद्धार

काठमाडौं । बेलुन फुट्दा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले बताए ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको छ ।

अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यलाई उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।

पौडेल र आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न अस्पताल ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ केसीले बताए ।

Published : Saturday, 2025 February 15, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया