मन्त्रीले जोखिम नलिएपछि अख्तियारमा बयान दिँदै आएका प्रदीपको योजना चक्नाचुर, सिनामंगलमा खुसी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणका ११औं तहबाट महानिर्देशक बनेका प्रदीप अधिकारीलाई बढुवा गर्नबाट हच्किएका छन् ।

शुक्रबार बबरमहलस्थित प्राधिकरणको पुरानो भवन (खण्डहर)मा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डको बैठकमा १२औं तहको रिक्त एक पदमा बढुवा गर्ने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ । बोर्डको अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई ११औं तहबाट १२औं तहमा बढुवा गर्दा भविष्यमा झमेलामा पर्ने देखेपछि हच्किएका हुन् । पाण्डेले अधिकारीलाई बढुवा गर्ने विषयमा नियम, कानून, ऐन लगायतले के भन्छ भनेर प्रश्न राखेका थिए ।

अधिकारीलाई बढुवा गर्दा भविष्यमा समस्या र झमेलामा पर्ने देखेपछि मन्त्री पाण्डेले कानूनका जानकार तथा विज्ञहरूसँगको रायपछि उचित निर्णय लिने भनेर बैठक स्थगित गरेको बुझिएको छ । महानिर्देशक अधिकारीको दवावमा नपरेर मन्त्री पाण्डेले बोर्डको बैठकबाट जोखिमपूर्ण निर्णय लिएनन् ।

पर्यटनमन्त्री पाण्डेले बोर्डको बैठकमा लिएको अडान र उचित कदमको प्राधिकरणका कर्मचारीहरूले स्वागत गरेका छन् । उनीहरूले मन्त्री पाण्डे महानिर्देशक अधिकारीको प्रलोभन र दवावमा नपरेर निर्णय गर्दै जाने हो भने आफूहरूले कार्यसम्पादनमा मन्त्री पाण्डेलाई सफल बनाउने बताएका छन् । बोर्डको बैठक बसेपछि सिनामंगलस्थित प्राधिकरणमा रहेका कर्मचारीहरूले निकै चासो लिएर हेरेका थिए । मन्त्री पाण्डेको सुझबुझपूर्ण निर्णयको स्वागत गर्दै खुसी बाँडेका छन् ।

११औं तहबाट १२औं तहमा बढुवा हुनको लागि ४ वर्षको कार्यसम्पादन मूल्यांकन आवश्यक पर्छ । १२औं तहका ६ जनालाई विभिन्न हर्कत गरि ११औं तहबाट महानिर्देशक बनेका अधिकारीसँग ११औं तहको कार्यसम्पादन मूल्यांकन १ वर्षको मात्रै छ । अधिकारीसँग ३ वर्षको कार्यसम्पादन मूल्यांकन महानिर्देशक पदको छ । अब यस्तो अवस्थामा अधिकारीको दवाव र प्रलोभनमा परेर मन्त्री पाण्डेले बढुवा गर्ने जोखिमपूर्ण निर्णय लिएको भए फस्ने पक्का थियो । तत्कालका लागि मन्त्री पाण्डे महानिर्देशक अधिकारीको जालबाट बचेका छन् ।

प्राधिकरण कर्मचारीको सेवा सुविधासम्बन्धी नियमावलीले महानिर्देशक अधिकारीलाई ११औं तहबाट १२औं तहमा बढुवा गर्न मिल्दैन । अधिकारीभन्दा अगाडि र वरिष्ठ ११औं तहका धेरै कर्मचारी छन् । अधिकारीले महानिर्देशक पदको ३ वर्ष र ११औं तहको १ वर्षको कार्यसम्पादन मूल्यांकन जोडेर १२औं तहमा बढुवा हुन चाहेका छन् । यस्तो कार्य गर्न नियमावलीले दिँदैन । दुई वटा पदको कार्यसम्पादन मूल्यांकन जोडेर अधिकारीलाई बढुवा गर्ने हो भने त्यो भ्रष्टाचार ठहरिने प्राधिकरणका कर्मचारीहरूले बताएका छन् ।

प्राधिकरणको ११औं तहका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रभावमा पारेर महानिर्देशक पद हत्याएका थिए । महानिर्देशक अधिकारीविरुद्ध प्राधिकरणकै कर्मचारीहरूले उजुरीहरू हालेका छन् ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटालाको अनुसन्धान गरिरहेको छ । २२ अर्ब लागतबाट ३२ अर्ब पुगेको थियो । पोखरा विमानस्थलमा घोटाला प्रकरणमा अख्तियारले महानिर्देशक अधिकारीसँग पटक पटक बयान लिएको छ । अख्तियारले कुनै पनि बेला महानिर्देशक अधिकारीसहितका कर्मचारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमा अभियोग पत्र दायर गर्ने सम्भावना छ । त्यो अवस्था रह्यो भने महानिर्देशक अधिकारीसहितका उच्च तहका धेरै कर्मचारीहरू निलम्बनमा पर्ने सम्भावना छ ।

Published : Friday, 2025 February 14, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया