झण्डा र रूख प्रयोग गर्न कसैले रोक्न सक्दैन, १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिन्ह प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको बताए । उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताए ।
प्रवक्ता समेत रहेका डा.महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताएका छन् । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका छन् ।
डा.महतले भने, ‘हामी आधिकारिक कांग्रेस हौं भनेर मैदानमा निस्किएका छौं । नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन । सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौं । हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो ।’
उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको नेता डा.महतले बताएका छन् ।
डा.महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने बताए ।
नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत मंसिरको २१, २२ र २३ गते काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औं महाधिवेशन आयोजना हुन लागेको छ ।
महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको डा.महतले बताए ।
महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा.महतलाई जिम्मेवारी दिइएको छ । अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया