गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको रग्बी क्षेत्रको चर्चित गोर्खाली रग्बी क्लबको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीको सभापतित्वमा भएको साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव तथा एसिया रग्बी महासंघका उपाध्यक्ष टंकलाल घिसिङले उद्घाटन गरेका छन् ।

घिसिङले कुनै पनि खेलको मेरुदण्ड भनेकै क्लब रहेको बताउँदै गोर्खाली क्लबको सक्रियताको प्रसंशा गरेका छन् ।

विभागीय टोलीबाहेक गोर्खाली क्लब नेपालको सबैभन्दा चर्चित रग्बी क्लबमा गनिन्छ ।

साधारणसभामा क्लबका सचिव प्रेम कोइरालाले आगामी वर्ष विभिन्न स्कुलहरूमा प्रशिक्षण अभियान चलाउने, गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको आयोजना गर्ने, गोर्खाली रग्बी फेस्टिबल सञ्चालन गर्नेलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने योजना पेस गरेका छन् ।

साधारणसभाले सन्तोष श्रेष्ठ, तारा तामाङ तथा विवेश बाशुलाई कार्यसमितको नयाँ सदस्यमा नियुक्त गरेको छ ।

साधारणसभामा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले क्लबको प्रशंसा गर्दै रग्बी विकासमा थप सक्रिय रहन शुभकामना दिएका छन् ।

रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी तथा महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, लगायत रग्बी एजुकेटर टंकराज गिरी, गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ लगाएत क्लबका सदस्य राधिका शाक्य, ज्योति श्रेष्ठ, वाग्मती प्रदेश रग्बी संघका सचिव अनन्त श्रेष्ठलगायत विभिन्न क्लब तथा प्रदेशबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2026 September 6, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया