हक्की विश्वकपमा भारतसँग पाकिस्तानको लज्जास्पद पराजय

नयाँदिल्ली । भारतले पाकिस्तानलाई ५–३ गोलले पराजित गर्दै एफआईएच पुरुष हक्की विश्वकप २०२६ को दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

रोमाञ्चक र उच्च स्कोर भएको खेलमा भारतले सुरुदेखि नै आक्रामक खेल देखाउँदै पाकिस्तानमाथि दबाब कायम राख्यो ।

भारतका लागि कप्तान हरमनप्रीत सिंह र अभिषेकले समान दुई गोल गरे भने हार्दिक सिंहले एक गोल थपे । पाकिस्तानका हन्नान शाहिदले दुई तथा सुफियान खानले एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पराजयसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ ।

भारतले पाँचौँ मिनेटमै अग्रता लिएको थियो। पहिलो पेनाल्टी कर्नर पाएको भारतका कप्तान हरमनप्रीतले उत्कृष्ट ड्र्याग फ्लिकमार्फत बललाई गोलमा परिणत गरे । त्यसको केही मिनेटमै अभिषेकले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गरेपछि भारत २–० ले अघि बढ्यो ।

२१औँ मिनेटमा हरमनप्रीतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता ३–० बनाए । त्यसपछि पाकिस्तानले खेलमा फर्कने प्रयास ग¥यो । हन्नान शाहिदले उत्कृष्ट ड्रिब्लिङपछि गोल गर्दै अन्तर घटाए। २४औँ मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४–१ ले अघि बढ्यो । त्यसको केही समयमै सुफियान खानले पेनाल्टी कर्नरबाट गोल गर्दै पाकिस्तानलाई पुनः खेलमा फर्काउने आशा जगाए । पहिलो हाफ भारतको पक्षमा ४–२ गोलमा सकियो ।

दोस्रो हाफको सुरुआतमै भारतले अर्को गोल थप्यो । पाकिस्तानका खेलाडीले गरेको खतरनाक ट्याकलपछि भारतले पेनाल्टी स्ट्रोक पायो र हार्दिक सिंहले कुनै गल्ती नगरी गोल गरे । ५–२ को अग्रतापछि भारतले बलमा आफ्नो नियन्त्रण अझ बलियो बनायो ।

अन्तिम क्वार्टरमा पाकिस्तानले आक्रामकता बढायो । हन्नान शाहिदले फेरि गोल गर्दै अन्तर ५–३ मा झारे । त्यसपछि पाकिस्तानले लगातार दबाब सिर्जना गर्दै बराबरीको प्रयास गरे पनि भारतले आफ्नो रक्षापंक्ति सम्हाल्दै खेल जित्यो । पाकिस्तानका लागि भने भारतविरुद्धको हार विश्वकप यात्राको अन्त्य बनेको छ ।

Published : Thursday, 2026 August 20, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया