एशियन जुनियर चेस टोली भारत प्रस्थान

काठमाडौं । अल इण्डिया चेस फेडेरेशन एआईसिएफको आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिखसम्म सञ्चालन हुने एशियन जुनियर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बईमा प्रस्थान गरेको छ ।

नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाडी एआईएम अभिक शाह र दानिशा पुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन् ।

प्रतियोगिताको प्रोटेस्ट तथा अपील कमिटीमा अध्यक्ष हेराकाजी महर्जन तथा फिडे आर्विटर एफए सोराज ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

एशियन जुनियर चेस स्पर्धामा क्लासिकल, रापिड तथा ब्लिट्ज् गरि तीन विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछ । जस अन्तर्गत क्लासिकलतर्फ ९ चरण, रापिड र ब्लिट्ज् समान ७ चरणका खेल हुनेछन् ।

खेलमा ६ राष्ट्रका ६२ खेलाडीले स्वर्ण, रजत र काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्व बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगितामा विजेताले अन्तर्राष्ट्रिय मास्टरको टाइटल सहित ग्रायण्ड मास्टरका लागि नर्म हासिल गर्नेछन् ।

उपविजेता र तृतीय हुने खेलाडीले फिडे मास्टर टाइटल तथा अन्तर्राष्ट्रिय मास्टरको नर्म प्राप्त गर्नेछन् ।

नेपालका १९४८ रेटेड खेलाडी एआईएम अभिक शाहले आफ्नो तयारी राम्रो रहेको र सुखद नतिजा हासिल गर्दै टाइटल प्राप्त गर्ने अवसरको रुपमा लिएको बताए ।

प्रतिस्पर्धामा उच्च वरीयता २४७७ रेटेड आईएम पिङ्गिन अर्टेम, २४०४ रेटेड आईएम आदित्य धिङ्ग्रा, २३८५ रेटेड एफएम लोमादोभ अमानु मोहम्मदले चुनौती प्रस्तुत गर्नेछन् ।

गर्ल्स विधातर्फ दानिशा पुरीले प्रतिस्पर्धालाई अनुभव गर्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य रहेको बताइन् । उनले उच्च वरीयता डब्लुएफएम २२१३ रेटेड स्वारालक्षमी, २२०७ रेटेड डब्लुएफएम सोरादोभा लारा, २१२९ रेटेड डब्लुएफएम प्रतिती वोर्डोलोइको चुनौती सामना गर्नेछिन् ।

एशियन चेस फेडेरेशन तथा फिडेको तत्वावधानमा सञ्चालन हुने प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागी निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले थप ग्रेडिङ्ग नर्म समेत प्राप्त गर्ने अध्यक्ष महर्जनले जानकारी गराएका छन् ।

Published : Sunday, 2026 August 16, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया