धार्मिक र सामाजिक सद्भाव कायम गर्न बागमती कांग्रेसको अपील

जावलाखेल । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलले सुनसरी लगायतका जिल्लाहरूमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धार्मिक र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।

बिहीबार ललितपुरको जावलाखेलमा बसेको बागमती कांग्रेस संसदीय दलको बैठकले परिस्थितिलाई थप बिग्रन नदिई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संघीय सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्न अनुरोध गर्ने निर्णय भएको सचिव मीनकृष्ण महर्जनले बताए ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेश, सुनसरी जिल्लाको देवानगञ्ज, कप्तानगञ्जमा भएको दुःखद् घटना र त्यसपश्चात देशका विभिन्न भागमा उत्पन्न तनावपूर्ण परिस्थितिप्रति नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दल दुःख व्यक्त गर्दछ ।’

‘आपसी विवादका क्रममा ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दुःखद् घटनामा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ,’ बामगती कांग्रेसले भनेको छ ।

‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन तथा धार्मिक, सामाजिक सद्भाव कायम राख्न धैर्य, संयम हुँदै संवादमार्फत समस्या समाधानमा केन्द्रित हुन सबैमा नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दल हार्दिक अपील गर्दछ,’ सचिव महर्जनले भने ।

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सुनसरी लगायतका जिल्लामा भइरहेको प्रदर्शन र जनधनीको क्षतिप्रति चिन्ता जनाउँदै सामाजिक सद्भावका लागि आग्रह गरेको सचिव महर्जनले बताएका छन् ।

Published : Thursday, 2026 July 30, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया