लायन्स क्लबद्वारा दाङका अपाङ्गता भएका शर्मालाई गुणस्तरीय नयाँ ह्विलचेयर प्रदान

काठमाडौं । मानवताले फेरि जित्यो, एउटा अपील, केही संवेदनशील मनहरू र एक असहाय व्यक्तिको जीवनमा फर्किएको नयाँ आशा समाजमा अझै पनि मानवताको भावना जीवित छभन्ने उदाहरण दाङका अपाङ्गता भएका केदार शर्माको जीवनमा आएको परिवर्तनले पुनः प्रमाणित गरेको छ ।

दाङको राजपुर गाउँपालिका–२ निवासी केदार शर्मा विगत लामो समयदेखि कम्मरभन्दा मुनिको भाग नचल्ने समस्याबाट पीडित छन् । उनले प्रयोग गर्दै आएको ह्विलचेयर पूर्ण रूपमा जीर्ण भइसकेको थियो । कपडाले बाँधेर चलाउनुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था र नयाँ ह्विलचेयर किन्ने कुनै सम्भावना नहुँदा शर्माको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको थियो ।

यही पीडादायी अवस्थालाई समाजसेवी एवम् व्यवसायी प्रकाशकुमार श्रेष्ठले आफ्नो मानवीय संवेदनशीलतासहित सार्वजनिक गर्दै सहयोगको अपील गरे । त्यो अपील केवल समाचार बनेर सीमित भएन, सहयोगी मनहरूलाई जोड्ने माध्यम बन्यो ।

शर्माको समस्याको जानकारी प्राप्त हुनासाथ लायन्स क्लब अफ काठमाडौं गोगंबूका संस्थापक सदस्य समेत रहेका समाजसेवी श्रेष्ठले आफ्नो करीब १०० जना समाजसेवी सदस्यहरू रहेको समूहमा सूचना राखेका थिए । श्रेष्ठ सन् २०१२÷१३ का अध्यक्ष तथा हाल लायन्स डिष्ट्रिक्ट ३२५ के का डिष्ट्रिक्ट को–चिफ एड्भाइजर समेत हुन् ।

समूहमा प्रतिष्ठित व्यवसायी, पूर्व प्रहरी अधिकृत, वकिल, पत्रकार, सचिव, अडिटर, सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्व तथा डिष्ट्रिक्ट ३२५ के का क्याबिनेट र विभिन्न मेसेन्जर समूहहरूमा समाजसेवी एवम् व्यवसायी श्रेष्ठले शर्माको समस्यालाई तत्काल साझा गरेका थिए ।

सहयोगको यो अपीलले छोटो समयमै सकारात्मक परिणाम दियो । नेपाल लायनिज्मका धरोहर, निवर्तमान अन्तर्राष्ट्रिय निर्देशक तथा लायन्स क्लब अफ काठमाडौं गोगंबूका संस्थापक अध्यक्ष बालकृष्ण बुर्लाकोटीले यस अभियानलाई आफ्नो विशेष पहलमा अघि बढाउँदै दाङका शर्मालाई गुणस्तरीय नयाँ ह्विलचेयर उपलब्ध गराउने व्यवस्था गरेका छन् ।

लायन्स सुलोचना मानन्धरले उक्त ह्विलचेयर सुरक्षित रूपमा काठमाडौंबाट दाङसम्म पठाउने व्यवस्थापन गरेकी थिइन् । यसरी सबैको सामूहिक प्रयासले अपाङ्गता भएका शर्माले समयमै नयाँ ह्विलचेयर प्राप्त गर्न सफल भएका छन् ।

एउटा ह्विलचेयरले केवल यात्रा गर्ने साधन मात्र दिएको छैन, यसले एक असहाय व्यक्तिलाई आत्मसम्मान, स्वतन्त्र रूपमा हिँडडुल गर्ने अवसर र जीवनप्रतिको नयाँ आशा दिएको छ ।

यो अभियानले फेरि एकपटक देखाएको छ—सहयोग गर्न ठूलो सम्पत्ति होइन, ठूलो मन चाहिन्छ । कसैले पीडा देखाए, कसैले आवाज उठाए, कसैले सूचना फैलाए, कसैले स्रोत जुटाए र कसैले गन्तव्यसम्म पु¥याए । यिनै साना–साना योगदानहरू मिलेर ठूलो परिवर्तन सम्भव भयो ।

Published : Monday, 2026 July 20, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया