पूर्वमुख्यमन्त्री लामा, ज्योति विकास बैंक र उमामायलाई ७४ लाख ठगीको आरोप

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपियाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।

कार्कीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिकास्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपियाँ बैना बुझाएकी थिइन् । जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको उनले बताइन् ।

उनका अनुसार, उक्त विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ र उनकी आमा च्याउकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गर्ने आदेश दिएको उनले जानइन् । उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको पीडित कार्कीले बताइन् ।

कार्कीले अदालतको आदेश हुँदाहुँदै पनि पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, च्याउँकीमाया तामाङ तथा ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाएकी छिन् । कार्कीका अनुसार, लिलाम प्रक्रियाबारे थाहा पाएपछि आफूहरू ज्योति विकास बैंकको नेपालटार शाखामा पुगेर सो बारे ध्यानाकर्षण गराएको उनले बताएकी छिन् । ‘सम्पत्ति लिलाम हुने भए हामी दोस्रो रोक्कावाल पक्ष भएकाले बैंकसँग घरजग्गा सकार्ने पाउनु पर्छ भन्ने इच्छा व्यक्त गरेका थियौं,’ कार्कीले भनिन् । शाखा व्यवस्थापकले ‘जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भएको छ, त्यसैले तत्काल लिलाम नहुने भयो, लिलाम गर्ने अवस्थामा तपाईहरुलाई जानकारी गराउँछौं’ भनेर झुक्यायो,’ कार्कीले भनिन् ।

झुट्टा आश्वासनमा दिएर बैंकले ३ महिनापछि कुनै सूचना नदिई लिलाम प्रक्रिया सम्पन्न गरी बहादुरसिंह लामाको नाममा सम्पत्ति सकार गराइएको कार्कीले बताएकी छिन् ।

कार्कीले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छिन् ।

सो विषयमा दुर्गा प्रसाईंको वार्ता समिति सदस्य कुमार बस्नेतले कानूनी प्रक्रिया पुर्‍याएर पीडित अगाडि बढ्दा पनि कसैले पनि न्याय नदिनु कानूनी राजको खिल्ली उडेको बताएका छन् ।

जेनजी लक्ष्मी दवीले जनताले ठूलो आश गरेको वर्तमान सरकारले समेत पीडितको पक्षमा काम नगरेको आरोप लगाइन् ।

पीडित कार्कीले समाजसेवी दुर्गा प्रसाईंसँग पनि भेट गरेर आफू अन्यायमा परेको र बचाउमा बोलिदिन अनुरोध गरेकी छिन् ।

Published : Saturday, 2026 July 18, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया