नखाएको विष लाग्दैन, मेरो चरित्र हत्या गर्ने प्रपञ्च हो : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध राजनीतिक प्रतिशोधपूर्ण कार्य भएको भन्दै कानूनी विधिसम्मत लडाइँ लड्ने बताएका छन् ।

बिहीबार नेता शाहले विज्ञप्ति जारी गरेर आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएको बताए । उनले आफूले कानूनी लडाइँ लड्ने बताएका छन् ।

‘आज सम्मानित जिल्ला अदालतबाट मेरो नाममा पक्राउ पुर्जी जारी भएको जानकारी मैले पाएँ,’ नेता शाहले भने, ‘कसैलाई सहयोग गर्न बचाउन जाँदाको प्रतिफल मैले पाएको छु यो केवल एउटा राजनैतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन ।’

कांग्रेस नेता शाहले भने, ‘खाएको विष लाग्ने हो लाग्नु पनि पर्छ तर, न खाएको विष लाग्दैन मलाई मेरो देशको संविधान कानून र सम्मानित न्यायलयप्रति पूर्ण विश्वास छ ।’

‘केही दिनमा सत्यता बाहिर आउने नै छ कानूनले निर्वाध रुपमा आफ्नो काम गरोस् । म मेरो भागको कानूनी लडाइँ विधिसम्मत लड्ने नै छु र पूर्ण रूपमा कानूनी प्रक्रियामा सहयोग गर्न तयार छु ।’

कांग्रेसका सांसद शाहले भने, ‘आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो मैले राजनैतिक जीवनमा तपाईंहरूको अभूतपूर्व जनसमर्थन र माया आशीर्वाद प्राप्त गरेको छु ।’

‘तपाईं सम्पूर्णको सेवामा विचलित नभई सदैव लाग्नेछु,’ उनले भने, ‘मलाई माया गर्ने मेरा साथी भाई शुभचिन्तक कार्यकर्ता साथीहरू कोही कसैले पनि कानूनभन्दा बाहिर कुनै पनि क्रियाकलाप नगर्न र धैर्य गर्न अपील गर्दछु ।’

कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि आक्रमणको आरोप छ ।

कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमणमा सांसद शाह जोडिएको आरोपमा शाहविरुद्व जाहेरी दर्ता भएको थियो ।

कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानूनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

सांसद शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको शर्माको आरोप छ ।

Published : Thursday, 2026 July 16, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया