झण्डै दुईतिहाइको बालेन सरकारले दुबै सदनलाई बिजनेश दिन सकेन, २ हप्तालाई रोकियो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले विधेयक तथा अन्य कार्यसूची उपलब्ध गराउन नसकेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार बसेको बैठक साउनको दोस्रो साता बस्ने गरी स्थगित भएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले दुबै सदनलाई बिजनेश दिन नसकेपछि दुई हप्ताका लागि संसदका बैठकहरू प्रभावित बनेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी गराएका छन् ।

बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्मा पर्याप्त बिजनेस नरहेको निष्कर्ष निकाल्दै दुई साताका लागि बैठक स्थगित गर्ने सहमति भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख अर्यालले सरकारबाट कुनै नयाँ विधेयक वा निर्णयार्थ पेस गर्नुपर्ने विषय नआएकाले बैठक सञ्चालनका लागि आवश्यक कार्यसूची नभएको जानकारी गराएका छन् । त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरू बैठक स्थगित गर्न सहमत भएका थिए ।

राष्ट्रिय सभाको बैठक पनि बुधबार नै स्थगित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन १५ गते बस्ने जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि सभालाई जानकारी गराएका छन् ।

दुवै सदनमा सीमित कार्यसूची मात्र रहेपछि थप छलफल वा विधेयकमाथिको प्रक्रिया अघि बढ्न सकेन । त्यसपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले करिब दुई साताका लागि बैठक स्थगित गरेका हुन् ।

संसद्को वर्षे अधिवेशन चलिरहेका बेला लगातार बिजनेस अभाव देखिनु सरकारको विधेयक व्यवस्थापन र संसदीय कार्यसम्पादनमाथि प्रश्न उठ्ने विषय बनेको छ । विपक्षी दलहरूले यसअघि पनि सरकारले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्यसूची दिन नसकेको भन्दै आलोचना गर्दै आएका छन् । अब साउनको दोस्रो सातापछि बस्ने बैठकमा सरकारले नयाँ विधेयक तथा अन्य संसदीय कार्यसूची ल्याउने अपेक्षा गरिएको छ ।

Published : Wednesday, 2026 July 15, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया