गुठीको जग्गा कीर्ते गर्ने २७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुठीको जग्गा कीर्ते र जालसाजी गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, टोखाका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काठमाडौंको साङ्ला (साविक वडा नम्बर ९) मा पर्ने गुठीको जग्गा (कित्ता नम्बरहरू १४९, १५४, १५५ र १५७) को सरकारी श्रेस्ता (अभिलेख)मा रहेको ‘गुठी’ शब्द मेटाई जग्गालाई ‘रैकर’ (निजी) बनाएर किनबेच गरिएको भेटिएको थियो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीको विवरण अध्ययन गर्दा, सरकारी कागजातमा कीर्ते गरेर नियतबस गुठी शब्द हटाई जग्गा व्यक्तिको नाममा नामसारी र राजीनामा पास गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।
यस मुद्दामा आयोगले मालपोतका तत्कालीन कर्मचारी, मतियार र वर्तमान जग्गाधनीहरूलाई समेत प्रतिवादी बनाएको छ ।
मालपोत कार्यालय टोखाका तत्कालीन कार्यालय प्रमुख खनाल, तत्कालीन नायब सुब्बा रामप्रसाद शर्मा ढकाल, तत्कालीन कम्प्युटर अपरेटरद्वय जयराम खत्री र नाजोराम भगत, नायब सुब्बा कृष्णप्रसाद पोखरेल, खरिदार रुद्रप्रसाद आचार्य र तत्कालीन करार कम्प्युटर अपरेटर जानुका सापकोटालाई मुख्य प्रतिवादी कायम गरिएको छ ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेललाई पनि मुख्य प्रतिवादी कायम गरिएको छ ।
सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिलबहादुर प्रधान, पुरुषोत्तम प्रधान र सुरेश ढकाललाई गैरकानूनी लाभ लिन मतियार बनेका व्यक्तिहरू भन्दै प्रतिवादी कायम गरिएको छ ।
हालका जग्गाधनीहरू रामहरि थापा, रोजनी महत, नारायणप्रसाद अधिकारी, हर्कनारायण श्रेष्ठ, राजु श्रेष्ठ, तुईभाई श्रेष्ठ, गीता सापकोटा, विष्णुकला श्रेष्ठ, सरोज विशुराल, राजेश श्रेष्ठ, सुनिता श्रेष्ठ र प्रेमकुमारी रिजालमाथि कुनै सजायको मागदाबी नभई, कीर्ते गरिएको जग्गाधनी दर्ता स्रेस्ता बदर गराई उक्त जग्गालाई पुनः गुठीको नाममा कायम गराउने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया