विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध : एमाले
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र भएको बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ओलीले सरकारले प्रतिशोध साध्न खोजेको भन्दै सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए ।
‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो,’ ओलीले भने, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी एमालेमाथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’
अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यतालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको बताएका छन् ।
सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको ओलीले बताए ।
ओलीले भने, ‘जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानूनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ ।’
वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिएका छन् ।
ओलीले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने बताए । ‘वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ,’ उनले भने, ‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ । विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।’
उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा सहभागी भएका बेला सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग र बिचौलिया दीपक भट्टसँग सम्बन्ध भेटिएपछि अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया