रवि र बालेनले सम्बोधन गर्ने, भरतपुरमा रास्वपाको महाधिवेशनको तयारी, उम्मेदवारी दिन शुल्क निर्धारण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भोलि असार ७ गते आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको रास्वपाले जनाएको छ । महाधिवेशनको भव्य उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ ।
उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम निर्माण गरिएको छ । उद्घाटनसत्र सकिएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।
महाधिवेशनमा भाग लिन पार्टी सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरू, प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइसकेका छन् । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ । उद्घाटनसत्रलाई प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
असार ९ गतेसम्म चल्ने यस महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा केन्द्रीय समितिको आकार १३१ सदस्यीयबाट बढाएर १५१ वा १५८ सदस्यीय बनाउने गरी विधान संशोधनको प्रस्ताव समेत लैजाने तयारी गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई मर्यादित बनाउन विशेष निर्वाचन आचारसंहिता, २०८३ जारी गर्दै आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लड्न निषेध गरेको छ । सम्भावित निर्वाचनका लागि ई–भोटिङ मेसिनको समेत व्यवस्था गरिएको भए पनि मुख्य पदहरूमा सर्वसम्मतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चार हजार बढी प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन् ।
प्रतिनिधिहरूबाट मात्र करिब दुई करोड रुपियाँ संकलन भएको छ । पार्टीमा हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन् ।
रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपियाँ शुल्क निर्धारण गरेको छ । जसमा प्रतिनिधि शुल्कबाट १ करोड ९९ लाख ५० हजार रुपियाँ संकलन भएको छ ।
यसैबीच, रास्वपाले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी दिएको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपियाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ ।
पार्टी पदाधिकारीका लागि ४१ हजार रुपियाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपियाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ । आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि विभिन्न कागजातहरू अनिवार्य गरेको छ । रितपूर्वक भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो उम्मेदवारी दिन आवश्यक पर्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया