नवलपरासीमा कांग्रेसलाई शक्तिशाली झट्का, सभापतिले नै दिए पदबाट राजीनामा

बर्दघाट । नेपाली कांग्रेस, नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यको कारण देखाएर पोखरेलले राजीनामा दिएको कार्यवहाक सभापतिसमेत रहेका उपसभापति विक्रम यादवले जानकारी दिएका छन् । १४औँ अधिवेशनबाट निर्वाचित भएदेखि नै पोखरेलले लामो समयसम्म उपसभापति यादवलाई कार्यवहाक दिँदै आएका थिए । कांग्रेसको विधानअनुसार सभापतिले उपसभापतिलाई राजीनामा दिनुपर्ने व्यवस्था छ ।

उपसभापति एवम् कार्यबाहक सभापति यादवले भने, ‘राजीनामा स्वीकृत गरेर केन्द्रमा जानकारी दिइएको छ । केन्द्रले कुनै साथीलाई सभापतिको जिम्मेवारी दिएर पठाउला ।’

सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । हालका कार्यवहाक सभापति यादव महाधिवेशन प्रतिनिधि छैनन् । कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरूसँग छलफल भइरहेकाले केही दिनमा टुंगो लाग्ने जिल्ला सचिव उमेशचन्द्र यादवले बताएका छन् ।

नवलपरासी जिल्लामा कांग्रेसभित्र विवाद छ । अरबपति विनोद चौधरी नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्न गएपछि कांग्रेसभित्र बिग्रह भएको छ । सो क्षेत्रका कांग्रेस नेता बिक्रम खनालले चौधरीकै कारण पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । अरु धेरै कांग्रेसका नेताहरूले पनि पार्टी छाडेर विभिन्न राजनीतिक दलमा प्रवेश गरेका छन् ।

कुनै बेला कांग्रेसको गढ मानिने नवलपरासी जिल्ला निकै कमजोर बनेको छ । कांग्रेसभित्रको आन्तरिक विवाद र द्वन्द्वले नवलपरासीमा पार्टीले आफ्नो पकड गुमाएको छ ।

Published : Sunday, 2026 May 3, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया