पार्टी बचाउन सुदूरपश्चिम कांग्रेसको बोल्ड निर्णय, क्रियाशील सदस्यता अद्यावधि नगर्ने

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नेताहरूले १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरिसकेपछि पुनः क्रियाशील सदस्यता अद्यावधि गर्न नसकिने निर्णय गरेका छन् ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा भएको सुदूरपश्चिम प्रदेश कांग्रेसका नेताहरूको भेलाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेका कारण अद्यावधि नगर्ने निर्णय गरिएको कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले जानकारी दिए । भट्टले भने, ‘वडा सभापतिहरूले नै क्रियाशील सदस्यता बल्लबल्ल नवीकरण गरेर पठाएका छौँ भन्छन् । फेरि अद्यावधि गर्ने भनिएको छ । यो अद्यावधि गर्न सकिदैन भनेका छन् । वडा, प्रदेश, क्षेत्र र जिल्ला सभापतिहरूले समेत अद्यावधि गर्न सकिदैन भनेपछि कसरी अद्यावधि हुन्छ ? अद्यावधि गर्न सकिदैन र हुँदैन ।’

कैलाली जिल्लामा १७ हजार क्रियाशील सदस्यता रहेकोमा नवीकरण गर्ने बेला ४ हजार क्रियाशील सदस्यता घटेको सभापति भट्टले बताए । नयाँ दलहरूका कारण कांग्रेसलाई चुनौति थपिएको र पार्टीभित्र यति ठूलो विवाद भइरहेका बेला अद्यावधिको विषयलाई अगाडि बढाउन नसकिने सभापति भट्टले बताएका छन् ।

कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले राजनीतिक प्रतिशोधन साँध्न नवीकरण भइसकेका क्रियाशील सदस्यतालाई अद्यावधि गर्ने भनेर निर्णय गरेपछि देशभरि विरोध भइरहेको छ ।

काठमाडौंमा उपलब्ध सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेलाले क्रियाशील सदस्यता अद्यावधि नगर्ने निर्णय गरेसँगै अद्यावधिको विषयले हावा खाने पक्का भएको छ ।

नेताहरूले सुदूरपश्चिमका कांग्रेसका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक नगर्न÷नगराउन अनुरोध पनि गरेका छन् ।

भेलामा कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायर, नेताहरू एनपी साउद, रमेश लेखक, नैनसिंह महर, डा. रणबहादुर रावल, नृप वड, सुशीला मिश्र भट्ट, गोविन्दबहादुर शाह, विद्या तिमल्सिना, आनन्द विष्ट, कञ्चनपुर कांग्रेसका जिल्ला सभापति पदम बोगटी, कैलाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, डोटी कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउँद र बझाङ जिल्ला सभापति खडक बोहरा लगायतको उपस्थिति रहेको थियो ।

पूर्वसांसद अक्कल विष्ट, बाजुरा कांग्रेसका पूर्व जिल्ला सभापति कविराज पण्डित, कञ्चनपुर कांग्रेसका जिल्ला उपसभापति मीनबहादुर सिंह, महासमिति सदस्यहरू डा. उत्तरबहादुर ऐर, पुष्पकुमार शाही, गणेश विष्ट, नेपाल विद्यार्थी संघ सुदूरपश्चिमका अध्यक्ष कपिल केसी, नेविसंघका केन्द्रीय सदस्य रमेश कुँवरलगायतका नेता पनि सहभागी थिए ।

Published : Thursday, 2026 April 30, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया