अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी हटाउने निर्णयले स्तब्ध छु, शुभसंकेत होइन : नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी राष्ट्रिय सभामा संसदीय दलको नेतालाई हटाउने निर्णयबाट स्तब्ध भएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता खड्काले देशमा कालो बादल मडारिएको र पार्टी कमजोर अवस्थामा रहेका बेला राष्ट्रिय सभा संसदीय दलबाट एक अनुभवी नेतालाई हटाएकोमा विरोध जनाएका हुन् ।
‘राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता मनोनयन गर्ने, परिवर्तन गर्ने अधिकार संसदीय दलको बिधान अनुसार संसदीय दलको नेतालाई दिएको छ, यसमा पनि म प्रष्ट छु,’ नेता खड्काले भने ।
‘देशको राष्ट्रियतामाथि जुन, संकटको कालो बादल मडारिएको छ, पार्टी जुन अवस्थामा आज विवादको दलदलमा फसेको छ, मन बिभाजित छ,’ उनले भने ।
‘यस्तो अवस्थामा नेपाली कांग्रेसको सम्पूर्ण एकताको पहल गर्नु पर्ने जिम्मेवारीमा भएकाहरूबाट हतारमा पार्टीको एक अनुभवी, अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी पूर्व जानकारी बिनानै हठात् हटाउने निर्णय गरियो भन्ने जानकारी पाउँदा स्तब्ध छु,’ नेता खड्काले भने ।
‘यो नेपाली कांग्रेस पार्टीको सम्पूर्ण एकताको अपरिहार्य आवश्यताको ऐतिहासिक महत्वपूर्ण क्षणमा यो हतारको निर्णय कदापि शुभ संकेत होइन भन्ने मेरो ठम्याई छ,’ खड्काले भने, ‘सबै सचेत बनौं, सतर्क हौँ । मेरो आग्रह– मेरो अनुरोध अनि मेरो आह्वान सम्बन्धित सबैमा ।’
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएका नेपाली कांग्रेसका सभापति गगकुमार थापाले बुधबार राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई अपदस्थ गरेका छन् । सिटौलालाई हटाएर गगनले कमलादेवी पन्तलाई संसदीय दलको नेता बनाएका छन् ।
कमलादेवी पन्त कांग्रेसमा धेरै अवसर पाउने महिला नेतृमा पर्छिन् । कांग्रेसको केन्द्रीय सदस्य, पटक पटक सांसद, मन्त्री, राष्ट्रिय सभा सांसद लगायतका अवसरहरू पाएकी छिन् । उनका पति मधु आचार्यले काभ्रेबाट प्रतिनिधि सभाको टिकट पाएर पराजित भएका छन् । आचार्य कांग्रेसको केन्द्रीय सदस्य छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया