कांग्रेस एकताबद्ध हुने बेला प्रतिशोध राखेर कारबाही भयो, १५औँ महाधिवेशन अगाडि अध्यावधि आवश्यक छैन
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकले १५औँ महाविधेशनका लागि सबै संयन्त्रहरूलाई मिलाएर लैजानुपर्ने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा सम्पन्न बैठकले एक दर्जन निर्णयहरू गरेको नेता मीनबहादुर विश्वकर्माले बताए । उनले भने, ‘१५औँ महाधिवेशनमा जाँदै गर्दा महाधिवेशनका लागि बनाइने अथवा निर्माण गरिने सबै संरचना र संयन्त्रहरूलाई साझा रुपमा बनाइनुपर्छ ।’
नेता विश्वकर्माका अनुसार १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण भइसकेको अवस्थामा पुनः अध्यावधिका नाममा गरिएको गतिविधिप्रति आपत्ति जनाइएको छ । १५औँ महाधिवेशन अगाडि अध्यावधि वा त्यस्तै खालका कुनै पनि उर्दीलाई मान्न नसकिने र सम्बन्धित पक्षसँग त्यस विषयमा गम्भीर हुन आग्रह गर्ने निर्णय भएको विश्वकर्माले बताए ।
राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला र सचेतकबाट कृष्णबहादुर रोकालाई हटाउने तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई अभिव्यक्ति दिएकै कारण हटाउन, निलम्बन गर्ने जस्ता कार्य भएको भन्दै बैठकले असन्तुष्टि जनाएको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादबारे फैसला गरिसकेको अवस्थामा पार्टी एकता र १५औँ महाधिवेशनको तयारी भइरहेका बेला भएका कारबाही, हटाउन लगायतका कार्य उपयुक्त नरहेको बैठकले निष्कर्ष निकालेको छ ।
दुई दिनको काठमाडौं बैठकले गरेका निर्णयहरू लिपिबद्ध गरेर केही समयपछि सार्वजनिक गरिने नेता विश्वकर्माले बताए ।
विशेष महाधिवेशन पक्षधरहरूले अनुशासनको बहानामा देउवा पक्षका नेताहरूलाई धमाधम कारबाही गर्नुका साथै प्रतिशोध राखेर गतिविधि भइरहेका छन् । कारबाहीमा डा.शेखर कोइरालाका नेताहरू पनि परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया