देउवा–कोइराला निकटका प्रदेश मन्त्री र सांसदहरूलाई गगनद्वारा कारबाही गर्न पाँच दिने पत्र थमाए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला निकटका सात नेताहरूलाई ५ दिने स्पष्टीकरण सोधेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट जारी प्रेस विज्ञप्तिअनुसार अनुशासनको कारबाहीमा परेर स्पष्टीकरणमा पर्नेहरूमा ३ जना प्रदेश मन्त्रीहरू समेत छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने देहाय बमोजिमका व्यक्तिहरूलाई केन्द्रीय अनुशासन समितिमा ५ (पाँच) दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।’
स्पष्टीकरणका लागि पत्राचारमा पर्नेहरूमा देवकरणप्रसाद कलवार ‘सन्तु’ (महासमित सदस्य, नेपाली कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश), प्रदीप सुनुवार (पूर्व केन्द्रीय सदस्य एवं मन्त्री कोशी प्रदेश), प्रचण्डविक्रम न्यौपाने (यातायात तथा पर्यटन मन्त्री, लुम्विनी प्रदेश) रहेका छन् ।
राजु खनाल (उपसभापति लुम्बिनी प्रदेश एवं प्रदेश सभा सदस्य), जंगीलाल राय (प्रदेश सांसद मधेश प्रदेश), सकुन्तीदेवी महरा (प्रदेश सांसद, मधेश प्रदेश) र कौशलकिशोर राय (प्रदेश सांसद मधेश प्रदेश)लाई कांग्रेसले सात दिने स्पष्टीकरण पत्र पठाएको जनाएको छ ।
भृकुटीमण्डप भेलालाई कथित विशेष महाविधेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापालाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आफ्ना विरोधीहरूलाई अनुशासनको नाममा धमाधम कारबाही गर्न लागेका छन् ।
यसअघि, रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई निलम्बन गरिएको छ । कृष्णप्रसाद सिटौलाको राष्ट्रिय सभा संसदीय दलको नेता पद खोसिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया