भ्रष्टाचारीलाई मञ्चमा सँगै राखेर गगनले ‘सुनपानी’ छर्किए, सिंह परिवारसँग अद्भुत सम्बन्ध

काठमाडौं । भ्रष्टाचारीलाई आफ्नो दाहिनेतर्फ मञ्चमा सँगै राखेर नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘सुनपानी’ छर्किने कार्य गरेको भन्दै आलोचना भएको छ ।

बुधबार सर्लाहीमा कांग्रेसले राखेको मतदातालाई धन्यवाद तथा जरा अभियान कार्यक्रममा थापाले आफूसँग सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुरेन्द्रप्रसाद सिंहलाई आफूसँगै राखेर चोख्याउने प्रयास गरेको चर्चा भएको छ । भ्रष्टाचारी ठहर भएका सिंहलाई गगनले आफ्नो दाहिनेतर्फ राखेका छन् । गगनले भ्रष्टाचारी ठहर भएका सिंहलाई किन साथमा सँगै लिएर हिँड्छन् ? प्रश्न उठेको छ ।

सिंहले आफ्नै छोरालाई अस्पतालको अध्यक्ष बनाउनेदेखि पत्नीलाई सांसदको टिकटका लागि सिफारिस गर्ने जस्ता कार्य गर्दै आएका छन् । आफ्नै भाइ वीरेन्द्रप्रसाद सिंह पनि मधेश प्रदेश सभामा कांग्रेसबाट सांसद छन् । वीरेन्द्रप्रसाद सिंह मधेश प्रदेश सरकारका मन्त्री भइसकेका छन् । सिंह परिवारले सर्लाही कांग्रेसलाई आफ्नो परिवारभन्दा बाहिर जान दिएको छैन । अवसर पाउँदा आफ्नै परिवारका सदस्यलाई दिने गरेका छन् ।

भ्रष्टाचारी ठहर भएका सिंह सर्लाही कांग्रेसका पूर्वसभापति हुन् । सर्वोच्च अदालतबाट समेत भ्रष्टाचारी ठहर भएपछि सिंहले सर्लाही कांग्रेसको सभापति पदबाट राजीनामा दिएका हुन् ।

गगनले कांग्रेस पार्टीमा सुशासनको कुरा गर्छन् । तर, आफू भने छेउमा भ्रष्टाचारीलाई राखेर कार्यक्रम गर्दै आएका छन् । भ्रष्टाचारी ठहर भएका सिंहकै घरमा समेत गगन बस्दै आएका छन् । सर्लाही ४ मा उम्मेदवार बनेका बेला गगन उनै भ्रष्टाचारी ठहर भएका सिंहको घरमा बसेका थिए ।

गगनलाई सर्लाही ४ मा उम्मेदवार बनाउन उनै भ्रष्टाचारी ठहर भएका सिंहले लगेका थिए । भ्रष्टाचारी ठहर भएका सिंह र गगनबीच अद्भूत सम्बन्ध रहेको सर्लाहीदेखि सानेपासम्म चर्चा छ ।

भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेका गगन भावी प्रधानमन्त्री भनेर सर्लाही ४ बाट उम्मेदवार बनेका थिए । गगनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले १२ हजारभन्दा धेरै मतको अन्तरले हराइदिएका थिए ।

तत्कालीन समयमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले भ्रष्टाचारी ठहर गर्दै फैसलाको थियो । सिंहसहितलाई विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटानसम्बन्धी मामिलामा भ्रष्टाचारी ठहर गरेको थियो ।

त्यसपछि सिंहसहितले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतबाट मागदाबीभन्दा कम सजाय भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

सिंह र अख्तियार दुवै सर्वोच्च पुगेपछि यो मुद्दा करिब १० वर्षदेखि अड्किएको थियो । पुनरावेदन निवेदनमा सुनुवाइका क्रममा अख्तियारले मागदाबीभन्दा कम सजाय भएको दाबीलाई सर्वोच्चले नपुग्ने ठहर गरिदिएको छ ।

विशेषको फैसलाविरुद्ध पुनरावेदन गरेका सिंहसहितको सजाय र जरिवाना केही घटाए पनि सर्वोच्चले उनीहरू सबैलाई दोषी ठहर गरेको हो ।

सिंह त्यसबेला मनुसमरा सिँचाइ आयोजना उपभोक्ता समितिको अध्यक्ष थिए । सिंह २०७८ फागुनमा सर्लाही कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए ।

सिंहले त्यसबेला सिँचाइ आयोजना क्षेत्रमा रहेका सिसौँका रुख स्थानीय प्रशासनसँगको पनि मिलेमतोमा कटान गरेर भारततर्फ बेचेको आरोप लागेको थियो । त्यही प्रकरणमा सिंहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो । यो प्रकरणमा सिंहलाई अख्तियारले पक्राउ गरेर त्यसबेला हिरासतमा राखेको थियो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले त्यसबेलाका ठेकेदारहरू सुरेन्द्रप्रसाद सिंह र अमिरी राय यादवलाई जनही १ करोड २३ लाख ६ सय रुपियाँ ४ पैसा जरिवाना हुने फैसला गरेको थियो ।

विशेष अदालतले २०७१ पुस २५ गते अख्तियारको भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै यी दुवै ठेकेदारलाई जनही ९ महिना कैद हुने फैसला गरेको थियो ।

ठेकेदारद्वय सिंह र यादवले मनुसमारा सिँचाइ आयोजना सञ्चालन गर्दा रुखहरूले अप्ठेरो पारेको भन्दै त्यस आयोजना वरपरका १८ हजारभन्दा बढी सालका रुख कटान गरेर बेचेका थिए ।

रुख कटान गरी बेचेपछि आम्दानी भएको रकममध्ये केही सरकारी खातामा जम्मा गरिएको थियो । उक्त आम्दानीको अधिकांश रकम दुबैजनाले आफैं लिएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

Published : Wednesday, 2026 April 29, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया