गगनको आशीर्वादपछि सर्लाहीका कांग्रेस पूर्वसभापति सिंहले छोरालाई अस्पतालको अध्यक्ष बनाए

धन्कौल । नेपाली कांग्रेस, सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहले आफ्नो छोरा सुधिरप्रसाद सिंह (मुन्ना)लाई बैद्यनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष नियुक्त गराएका छन् ।

पूर्वसभापति सुरेन्द्र सिंहले मधेश प्रदेश सरकारमा राजनीतिक शक्ति लगाएर छोरा सुधिरप्रसाद सिंहलाई सर्लाहीको धन्कौल गाउँपालिकास्थित बैधनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष पदमा नियुक्ति गराइएका हुन् ।

मधेश प्रदेश सरकार अन्तर्गत रहेको ५० शैय्याको प्रादेशिक अस्पतालमा सुधिरको नियुक्तिले सर्लाही कांग्रेसमा सिंह परिवारको जालो कसरी फैलिएको छभन्ने देखाएको छ ।

सर्लाही कांग्रेसका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पावर लगाएर मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमार्फत छोरालाई अस्पतालको अध्यक्ष बनाएको सर्लाही कांग्रेसका एक जना जिल्ला सदस्यले बताएका छन् ।

सर्लाही कांग्रेसका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंह सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरिएका व्यक्ति हुन् । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि सुरेन्द्रप्रसाद सिंहले सर्लाही कांग्रेसको सभापति पदबाट राजीनामा दिएका थिए ।

सुरेन्द्रप्रसाद सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैजनाथ आमा तथा बाल प्रादेशिक अस्पताल, धन्कौलको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भई पदभार ग्रहण गरेको छोरा सुधिरप्रसाद सिंह उर्फ मुनालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

सुरेन्द्रप्रसाद सिंहका भाइ वीरेन्द्रप्रसाद सिंह मधेश प्रदेश सभाका सदस्य (सांसद) पनि छन् । अघिल्लो मधेश प्रदेश सरकारमा वीरेन्द्रप्रसाद सिंह स्वास्थ्यमन्त्री रहेका थिए ।

सुरेन्द्रप्रसाद सिंहले प्रतिनिधि सभा निर्वाचनको बेला आफू भ्रष्टाचारी ठहर भएर सर्लाही ४ बाट चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि आफ्नै छोरा सुधिरप्रसाद सिंह र पत्नी बेबी सिंहलाई सिफारिस गरेका थिए । छोरा सुधिरप्रसाद सिंहको उमेर नपुगेपछि टिकट पाउने कुरै रहेन । गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवार बनेपछि बेबी सिंहले टिकट पाइनन् ।

पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहले छोरा सुधिरप्रसाद सिंहलाई बैद्यनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष बनाएसँगै नेपाली कांग्रेसबाट धन्कौल गाउँपालिकाको अध्यक्षको भावी उम्मेदवारका रुपमा अगाडि सारेका छन् ।

सर्लाही जिल्लामा कांग्रेसको राजनीति सुरेन्द्रप्रसाद सिंह र वीरेन्द्रप्रसाद सिंहको परिवारभन्दा बाहिर जान सकेको छैन । गगनकुमार थापाले पनि सिंह परिवारलाई च्यापेका छन् । सिंह परिवारसँग निकट रहेका गगन थापा उनीहरूकै घरमा गएर बस्दै आएका छन् ।

पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहका छोरा सुधिरप्रसाद सिंह बैद्यनाथ आमा तथा बाल अस्पतालको अध्यक्ष नियुक्त भएसँगै बुधबार गगनकुमार थापा सर्लाही ४ मा पुगेका छन् । अस्पतालको अध्यक्ष नियुक्त भएका सुधिरप्रसाद सिंहलाई गगन थापाले भेटेर बधाइ र कार्यकालको शुभकामन दिने कार्यक्रम रहेको सर्लाही कांग्रेसका एक सदस्यले बताए ।

गगन थापा सर्लाही ४ मा गएर निर्वाचनमा प्रतिस्पर्धा गरेपछि सिंह परिवारको दाउ लागेको छ । सिंह परिवारले सर्लाही कांग्रेसमा एकछत्र राज गरेका छन् ।

Published : Wednesday, 2026 April 29, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया