दुईतिहाइको बालेन सरकारले फेरि बढायो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएको भन्दै पुनः सार्वजनिक यातायातको भाडा बढाएको बुधबार जारी सूचनामा उल्लेख छ ।

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको जनाएको छ । बढेको भाडा आजै बुधबारदेखि लागू हुने विभागको सूचनामा उल्लेख छ ।

अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५÷५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि सरकारले भाडा बढाएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ ।

हाल डिजलको मूल्य प्रतिलिटर २३५.८३ रुपियाँ छ । विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ ।

रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबाट जनताले राहतको अपेक्षा राखेका थिए । तर, निरन्तर सार्वजनिक सवारी साधनको भाडा बढ्न थालेपछि चिन्ताको विषय बनेको छ ।

Published : Wednesday, 2026 April 29, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया